सागर भुर्तेल, सिड्नी
तमु समाज सिड्नी न्यू साउथ वेल्सले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ल्होछार/ल्होसार मनाउने भएको छ ।
तमु (गुरुङ) भेषभुषा, कला संस्कृतिको संरक्षण-सम्बर्द्धन गर्दै आफ्नो पहिचान जीवन्त राख्न समाजले आउँदो जनवरी ४ तारिख शनिबार २०२० हर्सभिल मराना अडेटेरियममा कार्यक्रम गर्ने भएको हो ।
महासचिव माहासचिब अर्जुन गुरुङले दिएको जानकारी अनुसार आउँदो जनवरी ४ तारिख शनिबारका दिन तमु ल्होसार भव्यरुपमा मनाइने भएको छ । कार्यक्रम हर्सभिल मराना अडेटेरियममा हुनेछ । नेपाल बाट आउने चर्चित कलाकार मिलन अमात्यको सांस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा तमु संस्कृतिको प्रदर्शनी, नाँच गान तथा स्थानीय कलाकारले मनोरञ्जन दिनेछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो। तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ। विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक रहने यस तमु वर्षमा गएको वर्ष फो ल्हो ( मृग )को वर्ष थियो भने यस वर्ष मुसा वर्ष अर्थात् ‘च्यु ल्हो हुनेछ ।

