सिड्नी, साउन-११। लोर्ना जेन नामक लुगाले आफ्नो कम्पनीको कपडाले कोरोना भाइरसको संक्रमण रोक्ने दाबी गरेपछि उक्त कम्पनीलाई ५० लाख अस्ट्रेलियाली डलर जरिवाना गरिएको छ ।
एक्टिभवेअर फर्म लोर्ना जेनले सबै रोगकारक कीटाणुको विस्तार रोक्न आफ्नो लुगामा एलजे शील्ड नामक अभूतपूर्व प्रविधि प्रयोग गरिएको भन्दै विज्ञापन गरेको थियो। उक्त कम्पनीले अस्ट्रेलियामा व्यायाम तथा खेलकुदमा प्रयोग हुने लुगाहरु बनाउने गर्दछ । लुगाले कोरोना भाइरस नाश गरेको तथा कोभिड- १९ को विस्तारलाई रोकिदिएको दाबी गरेका कारण उक्त कम्पनीले जरिवाना तिर्नु परेको हो ।
संघीय अदालतको आदेशानुसार तथ्यहीन दाबी गर्ने उक्त कम्पनीलाई ५० लाख अस्ट्रेलियाली डलर जरिवाना तिराइएको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन। आफ्नो आदेशमा उक्त कम्पनीको दाबी शोषणकारी, हिंस्रक र खतरनाक भएको बारे संघीय अदालतका न्यायाधीशले उल्लेख गरेका छन्।
त्यस्तै सो कम्पनीले अदालतको आदेश स्वीकार गर्ने बताएको छ तर उसले प्रविधि
आपूर्तिकर्ताले आफूलाई नराम्ररी झुक्याएको दाबी गरेको छ। लोर्ना जेनका प्रमुख कार्यकारी बिल क्लार्कसनले भने ‘एउटा विश्वसनीय आपूर्तिकर्ताले हामीलाई एउटा उत्पादन बेच्यो तर त्यसले भने जसरी काम गरेन।
‘लोर्ना जेनले आफ्नो लुगाले कोभिड-१९ फैलिन नदिने दाबी गरेको थियो । उक्त कम्पनीले कोभिड महामारीका बेला जुलाईमा आफूले उत्पादन गरेको कपडाहरु बजारमा पुर्याउने अभियान थालेपछि उपभोक्ता आयोग एसीसीसीले कानूनी कारबाही शुरु गरेको थियो। अदालतले उक्त कम्पनीलाई आफ्नो विज्ञापन सच्याएर सूचना प्रकाशित गर्न पनि भनेको छ। केही समयअघि पनि उक्त कम्पनीलाई कोभिडबारे अवैधानिक विज्ञापन गरेको भन्दै ४० हजार अस्ट्रेलियाली डलर जरिवाना तिराइएको थियो।
गत शुक्रवारबार उक्त मुद्दाको फैसला गर्दै संघीय अदालतले लोर्ना जेनले विज्ञापनमा आफूसँग युक्तिसङ्गत वैज्ञानिक वा प्राविधिक आधारू भएको दाबी उपभोक्तासँग गरेको तर त्यसो नभएको ठहर गरेको छ। उपभोक्ता तथा सर्वसाधारणलाई झुक्याउने काम गरेको भन्दै अदालतले उक्त कम्पनीलाई जरिवाना तिराएको हो। उक्त कम्पनीका पसलहरू अस्ट्रेलियामा मात्र नभई न्यूजील्यान्ड, अमेरिका र सिङ्गापुरमा पनि रहेका छन्। स्रोत:- बीबीसी

