काठमाडौँ, साउन-११। कंगारुको देश अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको रोजाईमा रहेको देश हो। अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नी जानुपर्ने भयो भने अहिले काठमाडौंबाट एकतर्फी हवाई भाडा झन्डै १२ लाख रुपैयाँ तिर्नु पर्ने भएको छ।
अहिले काठमाडौंबाट अस्ट्रेलियाको सहर सिड्नी जान परेमा एकतर्फी हवाई भाडा कम्तीमा ११ लाख ९० हजार रुपैयाँ तिर्नुपर्ने भएको हो । त्यो पनि साउनभर टिकट पाउन मुस्किल छ । यसको एउटै कारण हो, दिन प्रति दिन बढ्दै गएको कोरोना भाइरस(कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्ट्रेलियाले लागू गरेको यात्रुको आगमन कोटा प्रणाली ।
अहिलेको यो भाडादर कोरोना महामारी अघिको दाँजोमा करिब ११ सय प्रतिशत बढी हो । ‘अस्ट्रेलिया जानुपर्ने टिकटका लागि मन्त्रीको सोर्सफोर्ससहितका फोन आइरहेका छन्,’ काठमाडौंस्थित कतार एयरवेजका एक कर्मचारीले भने, ‘टिकट बुकिङ सिस्टममा सस्तो टिकट नै छैन । मध्य भदौसम्म पूरै प्याक भइसकेको छ ।’
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका महासचिव सुधीरकुमार उपाध्यायका अनुसार, कोरोना संक्रमण नियन्त्रण गर्न अस्ट्रेलियाले अहिले विश्वभरबाट प्रतिदिन ५ सय यात्रुलाई मात्रै प्रवेश गर्न दिने नियम बनाएको छ ।
त्यसमा पूर्वी एसियाली मुलुकका वायुसेवालाई सातामा कसैलाई एक, कसैलाई दुइटा मात्रै उडान अनुमति दिएको छ । त्यसमा पनि एउटा जहाजमा ३० जनाभन्दा बढी यात्रु बोक्न पाइँदैन । ‘३ सय ९६ यात्रु क्षमता भएको बोइङ ७७७ विमानमा एकतर्फी ३० जना यात्रु मात्रै लैजान पाउने नियमका कारण हवाई भाडा १० हजार डलर (१२ लाख रुपैयाँ हाराहारी) पुगेको हो,’ कतार एयरवेजका ती कर्मचारीले भने, ‘३ हजार डलरबाट सुरु हुने सस्तो भाडाका टिकट पनि खुला गरिएका थिए । तर अगस्ट (भदौ १५) सम्मका सस्तो फेयरका टिकट बिक्री भइसकेकाले अहिले अधिकतम मूल्य (१० हजार डलर) का टिकट मात्रै केही बाँकी छ । यो पनि सेप्टेम्बर (असोज) पछि मात्रै ।’
महँगोमा टिकट किने पनि नेपाली विद्यार्थी वा पर्यटक भिसाबाहकले सजिलै अस्ट्रेलिया जान पाउँदैनन्, त्यहाँको नागरिक वा पीआरवाहक हुनुपर्छ । कोरोनाअघि अस्ट्रेलिया जान ५५ हजारदेखि ९० हजार रुपैयाँसम्ममा टिकट पाइन्थ्यो ।
त्यसमाथि पनि यात्रु ४० घण्टामा मात्रै सिड्नी पुग्छन् । काठमाडौंबाट ४ घण्टा हाराहारीमा दोहा पुगेपछि त्यहाँ करिब २० घण्टा ट्रान्जिटमा बस्नुपर्छ । त्यहाँबाट १४ घण्टा लामो यात्रा गर्नुपर्छ । यतिका झन्झटपछि आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइन अनिवार्य गरिएको छ । कान्तिपुर दैनिकको सहयोगमा।

