सिड्नी। सत्तारुढ दलको प्रवासी संगठन प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले नेपालको बाढी पहिरोको पीडितलाई राहत सहयोगमा जुट्न आह्वान गरेको छ ।
अध्यक्ष भक्त गुरुङ र सचिव रमेश पाण्डेले जारी गरेको विज्ञप्तिमा प्रकोपमा परेकाहरुको तत्काल उद्धार गरी आवश्यक सहयोग गर्न र पोष्ट डिजास्टरको यथोचित व्यवस्थापन गर्न सरकारसंग जोडदार अपिल गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “अविरल वर्षातले ल्याएको बाढी–पहिरो र डुबानबाट सयौं व्यक्तिहरुले जीवन गुमाएका छन्, थुप्रै व्यक्तिहरु बेपत्ता भएका छन् र अरबौंको विकास संरचना, बालीनाली तथा सम्पत्तिको क्षति भएको छ । मेलाम्ची, ईन्द्रवती तथा सुनकोशी नदिको बाढी–पहिरोले मेलाम्ची वजार आसपासका अधिकांश घरवस्तीहरु डुवानमा परेका छन् ।
कास्की, पर्वत, तनहुँ, मनाङ लगायतका विभिन्न ठाउँहरुमा पनि बाढी–पहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको छ । हामी यस प्राकृतिक प्रकोपबाट भएको क्षतिप्रति गहिरो दुखः व्यक्त गर्दछौ, प्रकोपमा परी जीवन गुमाउने महानुभावहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं र सोकसन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।”
संस्थाले कोभिड–१९ महामारीबाट देशलाई बचाउन अक्सिजन प्लान्ट खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने अभियान सम्पन्न भएको भन्दै बाढी–पहिरोको प्रकोपमा परेका हाम्रा परिवारजनहरुको सहयोग र उद्धारको लागि पनि एकजुट भएर सहयोग संकलन अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरिएको छ । स्रोत:- mntvonline

