प्रकाश गैरे, एडीलेड
टोपी दिवस र महत्त्व सन् १९९० को दशक पछि नेपालीहरु भारतबाहेक अन्य मुलुकमा अध्ययन र रोजगारीका लागि जाने क्रम बढे संगै ती देशहरुमा नेपाली संगठित हुने र नेपालकाे प्रबर्द्धन गर्ने खालका कार्यक्रमहरु हुन थालेका हुन् । बिदेशको बसाइ काम देखि काम सम्म भैरहेको जिन्दगीको दैनिकीलाई छोटो विश्राम दिन हुने यस्ता कार्यक्रमहरु क्रमश नेपालीको पहिचान दिने उद्देश्यले समेत हुन थाले । हामी नेपाली समुदायले नेपाल प्रबर्द्धन गर्ने कार्यक्रमहरु भएका ठाउँमा म नेपालबाट आएको नेपाल यस्तो देश भन्नै नपरेको धेरै साथीहरुकाे अनुभव छ । त्यसैले क्रियाशिलताले नै अस्तित्व निमार्ण हुन्छ जहाँ हामी क्रियाशिल छौ त्यस देशमा त्यहा स्थानीय संघ संस्था राजनीति दल निकायहरुले नेपाली समुदायलाई पनि आफ्नो प्राथमिकता मा पारेका छन् । यिनै कुरालाई ध्यानमा राखेर नेपालको प्रबर्द्धन गर्ने मुख्य लक्ष लिए बिगत तीन बर्ष देखि प्रवासी नेपाल एकता मञ्च साउथ अष्ट्रेलियाले टोपी दिवस मनाउदै आएको छ ।
यस बर्ष पनि त्यसैको निरन्तरता स्वरूप बिगतका कार्यक्रमका अनुभबहरुबाट सिक्दै जनवरी १ का दिन Hendrie Street Reserve, 120B Hendrie St, Park Holme SA 5043 टोपी दिवस आयोजना गरिएको छ ।
यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुले नेपाली एकता, सद्भाव र सहयोगको पर्यायका रुपमा अनन्तकालदेखि शिरको शिखरका रुपमा परिचित नेपाली टोपीलाई संसारभर चिनाउने एवं नेपाल बाहिर हुर्किरहेको नयाँ पुस्तालाई विश्वकै अद्वितिय टोपीलाई नेपाली गौरवका रुपमा लिन उत्प्रेरित गर्ने छ भन्ने बिश्वास लिएका छौ ।
नेपाली टोपीका अभिन्न पुरकहरुका रुपमा नेपालको सरहदभित्रका विभिन्न भुगोल र त्यसमा रहेवसेका विभिन्न समुदाय एवं संस्कृतिहरुमा प्रचलित पोशाक, रितीरिवाज, संगित, नृत्य एवं दैनिक जीवनमा चल्ने गरेका अनगिन्ती मौलिकताहरुका प्रतिनिधीहरुको समेत प्रस्तुती रहने नेपाली मौलिक संपत्तिहरुको प्रस्तुती रहने यस कार्यक्रमले टोपी सहित हाम्रो मौलिक पोशाकहरु बारे पनि जानकारी दिने छ ।
आगामी २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण बर्ष रुपमा मनाउन निर्णय गरेकाे छ । नेपाली पर्यटनलाई विस्तार र प्रवर्धन गर्नका लागि मनाऊन थालिएको नेपाल भ्रमण वर्षको औपचारिक शुरुवात गरी एक नेपालीले एक विदेशी नेपाल पठाऔं भन्ने मुल मर्मलाई मुर्त रुप दिन संपुर्ण अष्ट्रेलियनहरु एकपटक नेपाल जाऔं भन्ने सन्देश संप्रेषण गर्ने मुख्य उद्देश्य समेत लिएका छाै ।
कार्यक्रममा नेपालबाट आउनु भएका अभिभावकहरुका लागि समेत हुने गरि पुरुष महिला बालबालिकाहरुका लागि छुट्टाछुट्टै खेलहरु पनि आयोजना हुनेछ भने हाम्रो स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति हुनेछ ।
कार्यक्रममा पञ्चेवाजा समुहकाे पनि प्रस्तुति रहने छ ।अन्तमा नेपाली खानाको परिकार खाएर कार्यक्रमलाई बिट मार्ने छौ ।

