नेपालको सुदूरपश्चिमी भू-भाग बिशेष गरेर खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृती, सभ्यता बोकेको डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाईदै आएको गौरा पर्व यो बर्ष पनि अस्ट्रेलीयाको मेल्बोर्नमा एक बिशेष कार्यक्रम गर्न मनाईने भएको छ। फार वेस्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरीयाले आयोजना गर्न लागेको गौरा पर्व आउँदो २४ अगस्टका दिन ईस्टोनियन हाउसमा अपरान्न पाँच बजेबाट शुरु हुँदैछ। यस कार्यक्रममा सहभागीता जनाउन दोश्रो नेपाल आईडल बिजेता रवी ओड आउने भएका छन्।
गौरा सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण सबै भन्दा ठुलो धार्मिक एवं सांस्कृतिक पर्व हो । शिव र पार्वतीको प्रेम अनि बिवाहको स्मरण गर्दै विशेष विधिविधान अनुसार शिव पार्वतीको पुजा, अारधना गरेर महिलाहरूले ब्रत मनाउने गर्छन भने पुरूषहरूले देउडा खेलेर खुशियालीमा साथ दिन्छन्।
गौरा पर्व भाद्र शुक्लको षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । साथै यस पर्वमा सरकारले देशभर सार्वजनिक विदा दिने गर्दछ । आफ्नो कला संस्कृति बिदेशमा पनी बचाई राख्न र बिदेशमा छरिएर बसेका नेपालीहरूमा सद्भाव कायम राखी आफ्नो संस्कृतिलाई भोलीका पीडीले नबिर्सीऊन भन्ने उद्देश्यले हरेक वर्ष गौरा पर्व मेल्बर्नमा मनाउने गरिन्छ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको कथन रहेको छ।
गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् । बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा ‘बिरुडा’ धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् । गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा-आजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन चली आएको छ ।

