अस्ट्रेलिया। राति ८ बजे सम्मको गणना अवधिमा न्यु साउथ वेल्स राज्यमा ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उक्त संक्रमित मध्ये २९ जना संक्रमण अवधिमा समुदायमा घुलमिल गरेको बताइएको छ। त्यस्तै उक्त संक्रमित मध्ये ६७ केश दक्षिण पश्चिम सिड्नीमा रहेका छन् ।
शुक्रबारको कोरोना ब्रिफिङका क्रममा राज्यकी प्रिमीयर ग्लाडिस बेरिजिक्लियनले भनिन् “समुदायमा रहँदा संक्रमित भएका मानिसहरूको संख्या बढिरहेको छ।” त्यस्तै संक्रमणको अवधिमा आइसोलेशन नबसेका घटना धेरै हुँदा संक्रमि संख्या थपिएको बेरिजिक्लियनले बताएकी छन।
अधिकांस संक्रमितहरू एकै घरका परिवार वा पहिले फेला परेका संक्रमित निकट रहेका मानिस भएको भएता पनि सम्बन्ध पुष्टि नभएका ३४ केशका बारेमा भने अधिकारी चिन्तित बनेका छन् ।
न्यु साउथ वेल्स राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले राज्यका अन्य क्षेत्रमा मानिसहरू पनि उच्च सतर्कतामा रहनु पर्ने बताइन् । “आज हटस्पट तोकिएका स्थान मात्र भनेर हुँदैन यो अर्को हप्ता फरक पनि हुनसक्छ,त्यसैले प्रत्येक चोटि तपाई घर बाट बाहिर निस्कँदा विशेष गरी यो सप्ताहान्नमा याद गर्नुहोस् कि तपाई जसको सम्पर्कमा आउनु हुन्छ उक्त व्यक्तिमा कोभिड–१९ हुनसक्छ ” उनले भनिन् ।
हाल राज्यमा ७५ जनाले विभिन्न अस्पतालमा कोरोनाका उपचार गराइरहेका छन् ।
ती मध्ये १८ जनाको सघन उपचार कक्ष र पाँच जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा घर बस्ने आदेश पालना नगर्ने १ सय ६४ जनालाई जरिवाना लगाइएको छ भने २ सय जनालाई नसिहतमा छाडिएको छ ।

