मेलबर्न। पछिल्लो दिन यता मेलबर्नमा पनि कोरोना संक्रमितको डर दिन प्रति दिन भेटिन थालेपछि सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रतिबन्ध लगाउदै आएको थियो। यसैबीच हाल सक्रिय संक्रमितको संख्या ३४ पुगे लगतै सरकारले थप कडाईका साथ् लकडाउन लागु गरेको छ।
पछिल्लो २४ घण्टामा गरिएका परीक्षणहरुमा १२ नयाँ कोरोना भाईरसका संक्रमित थपिएका छन। योसंगै मेलबर्नमा कुल सक्रिय संक्रमितको संख्या ३४ पुगेको हो। अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले एक साताको कडा लकडाउन घोषणा गरेको छ । नयाँ प्रतिबन्ध अनुसार अब पाँच कारणबाहेक घर बाहिर निस्किन रोक लगाइएको छ । यी पाँच कारणमा पूर्वस्वीकृति लिएका कामहरु, केयर गिभरका गतिविधि, खाद्यान्न लगायतका दैनिक आवश्यक सामग्रीहरु खरिद गर्न, २ घण्टासम्म व्यायाम गर्न, खोप लगाउन घर बाहिर निस्किन पाइनेछ । यस बाहेक सबै गतिविधि आज मध्यरातबाट रोक्न भनिएको छ । घरमा कोही पनि पाहुनालाई ल्याउन पाइने छैन ।
त्यसैगरी यदि कोहि एक्लै बसेको छ भने अर्को एकजना व्यक्तिलाई घरमा आउन दिन सकिनेछ । सार्वजनिक स्थलमा भेला हुन पाइने छैन । रेष्टुरेन्ट, पव र क्याफेहरुले टेकअबे सेवा मात्रै दिन सक्नेछन् । सुपरमार्केट, खाद्यान्नका पसलहरु, पेट्रोल स्टेशन, बैंक, मदिराका पसलहरु तथा औषधि लगायत अन्य खुद्रा पसलहरुले अनलाईन सेवा दिन सक्नेछन् । त्यस्तै विद्यालयहरु अनलाईन सञ्चालन गर्न भनिएको छ । होटल, क्लबहरु, क्यासिनो सबै बन्द हुनेछन् ।
त्यस्तै एज्ड केयरहरुमा कुनैपनि पाहुनालाई स्वीकार गरिने छैन । मृत्युसंस्कारमा १० जनासम्म जान पाउनेछन् । विवाह लगायतका कार्य पनि रोक्न भनिएको छ भने धार्मिक क्रियाकलापमा पाँच जनासम्म सहभागी भएर यसलाई प्रशारण गर्न सक्नेछन् प्रत्यक्ष सहभागी हुन पाइने छैन । यसैगरी उक्त प्रतिबन्धमा घर बाहिर निस्किदा मास्क अनिवार्य गरिएको छ । व्यायाम र अत्यावश्यक सामग्री खरिदको लागि पाँच किलोमिटरको नियम लागू गरिएको छ।

