अष्ट्रेलिया, सिड्नी। पछिल्लो समय नेपालमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको सम्झनामा सिड्नीमा दीप प्रज्वलन गरिएको छ।
शनिबार साँझ गैरआवासीय नेपाली संघ नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा सिड्नीमा दीप प्रज्वलन गरिएको हो । नेपालमा कोरोनाका कारण ज्यान गुमाएकाहरुको सम्झना गर्दै आयोजना गरिएको दीप प्रज्वलनमा नेपालको नक्सा बनाएर बत्ति बालिएको थियो ।
त्यस्तै स्थानीय एशफिल्ड पार्कमा आयोजित कार्यक्रममा अष्ट्रेलियावासी नेपालीहरु यो दुखद घडीमा सदैव साथ रहेको भन्दै वक्ताहरुले सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता पनि जनाएका थिए । कार्यक्रममा न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अभियन्ता ईन्द्रा बन, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डे, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुंग, प्रवक्ता नन्द गुरुंग, कोषाध्यक्ष अनिल पोखरेल, दिनेश जोशी, प्रतिज्ञा अधिकारी लगायतले तन अष्ट्रेलियामा भएपनि मन नेपालमा परेको विपत्तिमा सहयोग गर्नका लागि व्याकुल बन्ने गरेको बताएका थिए । नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष सन्ध्या शाहले महामारीमा परी निधन भएकाहरुको आत्माको शान्तिको कामना साथै परिवारजनलाई हामी पनि तपाईंहरुसँगै छौं भनी सान्त्वना दिन पनि कार्यक्रमले भूमिका खेल्ने आशा व्यक्त गरिन् ।
सो अवसरमा पण्डित प्रकाश ढोडारी, पण्डित देवांश कोइरालाले मन्त्रोच्चारणसहित शंख बजाई दिवंगत आत्माको चीर शान्तिको कामना गरेका थिए भने ईमाम मोहम्मद मोउद्दिनले पनि दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै प्रार्थना गरेका थिए । उक्त कार्यक्रममा सिड्नीमा रहेका नेपाली समूदायका सदस्यहरुको उपस्थिति थियो ।
दूतावास समेतको संरक्षकत्वमा बृहद नेपाली समूदायले सहयोग संकलन र नेपालमा सहयोग पठाउने कार्यलाई अघि बढाइरहेको भन्दै उनीहरुले भावनात्मक रुपमा दीप प्रज्वलन गरी दिवंगत आत्माको चीर शान्तिको कामना गरिएको बताएका थिए । अष्ट्रेलियामा रहेको नेपाली समूदायले यहाँको सरकारलाई नेपालमा सहयोग गरिदिन अनुरोध गर्दै विभिन्न प्रयासहरु गरिरहेका छन् ।

