eNepal

कविता: हाम्रा प्रम भन्दैछन …… नाई मलाई थाहा छैन

६० दिनको लकडाउन सकियो

अन्न पानी नुन बेसार सकियो 

बृद्धको ओखती सकियो

बच्चाको दुध सकियो 

मजदुर जो दिनभर काम गर्थ्यो फगत 

एक छाक टार्नलाई 

उसको अब बाँच्ने आशा नै सकियो

कठै ति सिमानामा छेकीएका नेपाली दाजु भाई

घरमै छट्पटाई रहेका बिरामी एम्बुलेन्स अभावले

अस्पताल बन्द छन तर संसद खुला छ 

एम्बुलेन्स चल्दैन तर कारगेड चल्छ राष्ट्रपतीको 

दुधका मुन्टा चुसिरहेको बच्चो बाट खोसियो ममता 

एउटा लक्का जवान अस्पताल पुग्नै नपाई 

डंगरंग पछारीयो चौरमा र उठेन लाश 

अर्का शिक्षक मरेपछी कुर्दैछन मलाई गाडीदेओ 

हाम्रा प्रम भन्दैछन ….. नाई मलाई थाहा छैन 

 

महाकाली नदी बेच्दा साक्षी बस्नेहरु 

टनकपुर बैरीलाई सुम्पदा प्याला ठोक्नेहरु 

बिदेशी गित संगित अक्षरस घोक्नेहरु 

यता बिरोधको नाटक गरी बैरीलाई पिठ्युमा बोक्नेहरु 

पशुपतीका मुल पुजारी बिदेशी हुनैपर्छ भनेर आगो बाल्नेहरु 

आज राष्ट्रबादी भै टोपलेका छन 

सिमा पारी अड्किएका ती अनुहारहरु 

आमा मरेपछी मात्रै पाउछन देश फिर्ने अनुमती 

बारीमा अन्न फलाउन छोडेर 

घर फलाउन उक्साउनेहरु 

साग देखी मासुको भागसम्म 

जिरादेखी महलको हिरासम्म 

गरिबको नुनदेखी मन्त्राणीको सुनसम्म

कपालको रिबनदेखी भित्री कट्टुसम्म 

गालामा धस्नेदेखी घरघरमा धस्ने सम्म 

सबै बैरीकै भर परेपछी 

दुतावासमा लाम लागी लागी सकेजती हसुरेपछी 

आज फेरी उनै राष्ट्र बादी भै टोपलेका छन 

छिर्छ राता रात र लुट्छ धर्तीपुत्र मधेशीहरुलाई 

बारी उनकै मिचिएको छ, गोरु उनकै लुटिएको छ 

बैरी साध मिचेर पोष्ट थप्दैछ 

जंगे पिल्लर उखेलेर सिमा मिच्दैछ 

हामी उहिल्यै गाउथ्यौ गित बिधानहरुका 

माछी मार्न जाउ न राजै कालापानीमा 

लिपुलेक, लिम्पियाधुराको छाती छेडेर

बम बारुदले ढुगां फोडेर 

बैरी सडक थप्दैछ हाम्रै छाती माथी 

हाम्रा प्रम भन्दैछन …… नाई मलाई थाहा छैन 

 

जुरुक्क उठे नक्सा कोरे ……. 

हामीले थपडी बजायौ 

लिपुलेक हाम्रै हो 

लिम्पीयाधुरा हाम्रै हो 

कालापानी हाम्रै हो 

फेरी दुईचार फण्डा गर्नेछन 

हामी फेरी थपडी बजाउनेछौ 

लिपुलेक, लिम्पियाधुरा, कालापानी

हजारौ श्वासहरु कुरिरहनेछन

नेपाली हुनुको गौरव नागरिक हुनुको गौरव 

सबैले बिर्सिसकेका हुनेछन 

चुनाव आउनेछ 

हामी फेरी जोक सुन्नेछौ 

सपना सुन्नेछौ 

हामी भोट हाल्नेछौ 

हामी केवल भोटिंग मेशिन

– एम एस अग्रज

जेठ १०, २०७७

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal