eNepal

कविताः परदेशीका भ्रम

  • यात्री केशर

भ्रम नै त हुन् यी

मनले मानिदिएको

रसिला-गुलिया भ्रम;

पहाड कोतरेर बनाइएका गह्राहरुले

पसिना छरेर मोति फलाउन सक्दैन

तर, त्यो सात समुद्रपारीको मरुभूमिमा

नोटका बुटा उम्रन्छन;

घरकी मायालुको साथलाई छोडेर

रपिलो वैशसँग साटेको नोटहरुले

घरमा खुशीका हुल भित्र्याउनेछ,

माटोको गाह्रो र टिनको छनोले

अध्याँरिएको घरलाई

सिमेन्टको भित्ता र कंक्रीटको छनोले

छिमेकभरी टल्काउनेछ;

घर नजिकैको विद्यालयमा पढेर

बन्न नसक्ने छोराको भविष्य

टाइ र जुत्ता लगाउने स्कूलले 

‘ठूलो मान्छे’ बनाइदिनेछ ।

पर्दा नै त हुन् यी

आखाँलाई छेकिदिएको

लामो-हरियो पर्दा;

आधा उमेर उसैको पालनमा कटाएको

दिदैन सुख त्यो आमाको काखले

तर, दिनेगर्छ सुख र समृद्धि

त्यो पराइको लाखले;

खोइ देखिदैन कि त्यो स्पष्ट,

एक्लो रहादाको यादले सताउदा

सिरानीमा पोखिएको श्रीमतीको आँसु,

छोरालाई काधमा बोक्दै गरेको छिमेकी काकालाई देखेर

आफ्नो ओइलाउदै गरेको छोराको बुवा भन्ने चाहना,

उमेरको कथा र बुढेसकालको व्याथा सुनाउला भन्ने

आकंक्षा र गुनासो भरिएको आमाको मन,

घरमा जरक-फरक गर्ने अर्को नर नहुदा

घर-खेत गर्न बाध्य एक्लो बुबाको व्याथा,

खोइ छतीमै गडिन्छ कि देखेर पनि

दिदिको बारीमा ओइलाएको मखमलको फूल ।

खैर, भ्रम नै त हुन् यी

दु:खमा उमेर कटाएर

सुखमा रमाउने भ्रम

खाडीको पैसाले घरमा

खुसीलाई किन्ने भ्रम

हात नसमाती, ताते नगराई

उज्ज्वल भविष्य तर्फ छोरालाई डोर्‍याउने भ्रम

रगत-पसिना-जवानीसँग साट्न खोजिएको

हरेक लाहुरेले देख्ने

मनले मानिदिएको

जर्रो-टर्रो भ्रम ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal