eNepal

जीवनमा सफलता हासिल गर्न अस्ट्रेलीयाकै सपना नै देख्नुपर्छ भन्ने छैन

ओहो, अस्ट्रेलीया कति राम्रो! कति विकसित त्यहाँ पुग्यो भने त स्वर्गकै अनुभुती हुन्छ होला।गगन चुम्बी भवनहरू, मनमोहक सामुन्द्रिक दृष्य, सिड्नीको ओपेरा हाउस अगाडीको सेल्फी, डिर्लीङ हार्बर…कति रमाइलो र कति मनमोहक।अस्ट्रेलीया गएकाहरू अधिकांशले गर्ने यस्तै यस्तै कुराले अस्ट्रेलीया कस्तो रहेछ भन्ने कौतुहलता जाग्नु स्वभाविक हो।

अाजकाल अस्ट्रेलीया धेरै नेपालीको सपनाको देश हो। अस्ट्रेलीयामा भएको विकासले बालकदेखि वृद्धवृद्धासम्मको मानसपटलमा गहिरो छाप पारेको छ।

नेपाललाई मात्र नभई अन्य देशका बासिन्दाहरूको पनि आकर्षणको केन्द्रबिन्दु बनेको छ, अस्ट्रेलीया।

हरेकजसो नेपाली युवाहरूको लक्ष्य र गन्तव्य बनेको छ। तिनै युवाको हुलको बिचमा धेरै आशा र थोरै निरासामा हराई रहेको म एक बबुवा।

विभिन्न अनलाईन पत्रपत्रिकामा छपिएका अस्ट्रेलीयाका बिभीन्न शहरका पोस्टर, आइएलटिएस र पिटीईको तयारी गर्दै गरेका साथीहरू, साघुँरा गल्लीहरू भित्रभित्र पनि ठूल्ठूला अक्षरमा स्टडी इन अस्ट्रेलीया लेखिएका होडिङ बोर्डहरू, त्यहाँको विकासको बारेमा सुनेको चर्चा र त्यहाँ पुगेका दाइदिदीहरूले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोहरू, भिडियोहरूमा देखेको भव्य जीवन शैली र अस्ट्रेलीयाबाट छुट्टीमा घर आएका दाजुदिदीहरूलाई दिएको सम्मान र स्नेह देख्दा मलाईमात्र होइन मजस्ता धेरै युवालाई तान्नु स्वभाविकै थियो। फोटो देख्दै त्यही बेला पुगिहालौंजस्तो हुन्थ्यो, मिल्ने भए उडेरै जाउँजस्तो।

स्कुल पढ्दादेखि अस्ट्रेलीया जाने मेरो रहर दिनदिनै झाँगिदै गयो। एलएलसी सकेर प्लस टु म्यानेजमेन्टको पढाइ सुरू गरें।

अस्ट्रेलीया  आउने मेरो सपना लक्ष्यमा बद्लिँदै गयो। 

पढाइ कहिले सकिन्छ र अस्ट्रेलीया जाउँला भन्नेमात्र दिमागमा हुन्थ्यो।  बारम्बार अस्ट्रेलीया बस्ने  ठुल्दाई, अङ्कल र दाइहरूसँग अस्ट्रेलीया आउने  प्रोसेसबारे चासो राखिरहन्थे।

प्लस टुरो पढाइ सकिएपछि स्टुडेन्ट भिसाको प्रोसेसमा लागें। अन्ततः फेड युनीमा ब्याच्लर अफ एकाउन्टीङ गर्न अस्ट्रेलीया प्रवेश अनुमति पाएँ।

अस्ट्रेलीया जाने भएर होला मन फुरूङ थियो, एयरपोर्टसम्म मम्मी र साथीहरु पुर्‍याउन आउनुभएको थियो।

जब प्लेन टेक अफ भयो परिवारबाट टाढा हुन लागेको ठानेर मन साह्रै भारी भयो।

बढेमानको प्लेन, बिचमा देखिएका केही शहर अनि समुन्द्रको हजार कोश माथीबाट अवलोकन मन त्यसै फुरुङ्ग थियो। केही घण्टाको आकाशको यात्रा पछि सिड्नीको एयरपोर्टलाई आँखाले नजिकबाट नियाल्दै गर्दै जुन कुराको कल्पना मैलै गरेको थिएँ त्यस्तो केही भएन। केही दिन आफन्त र साथीसँग शहर घुम्दैमा बिते। भएको ट्राभल चेक साट्दै खाने बस्ने घुम्ने क्रम हुन थाल्यो।सधैँ अरुले घुमिरहन सम्भव थिएन।  सबैको आआफ्नै तनाब र चटारो।

कलेज सुरू हुनु अघिसम्म त रमाइलै थियो। आखिर मैले सोचेको  सपनाको संसारमा जो पुगेको थिएँ। जब कलेज सुरू भयो तब वास्तविक अस्ट्रेलीया देखिन थाल्यो।

भिन्न देश, भिन्न चालचलन, रहनसहन।

ओहो! सुरूमा त घुलमिल हुन नै समय लाग्ने। धन्न आफन्त भएकाले खासै  समस्या परेन। विदेशमा एक्लै हुनु र आफन्तको साथमा बस्नुमा धेरै नै फरक हुँदो रहेछ। आफन्तको सामिप्यमा बस्न पाउँदा नौलो ठाउँमा पनि एक्लो अनुभूति गर्नु परेन।  यो मामिलामा म आफूलाई एकदम भाग्यमानी ठान्छु।

अर्काको भूमिमा जति नै सुविधा भए पनि आफ्नो जन्मभूमि र देशजस्तो कहाँ हुन्छ र? सोचेको र देखेको अस्ट्रेलीयामा आकाश र पातालको भिन्नता रहेछ। अस्ट्रेलीया गुलाबको फूल रहेछ, जुन  हेर्दा एकदम राम्रो तर काँडैकाँडाले घेरिएको। जो मेहनती र जाँगरिलो छ त्यो मान्छे सुन्दर फूलझैं फक्रिन सक्छ तर अल्छी र समयको महत्व नबुझ्नेलाई त्यही गुलाब काँडा बनिदिन्छ अस्ट्रेलीया।

अस्ट्रेलीयाका प्रायः सबै राज्यहरूमा नेपालीहरूको उपस्थिति छ। तर सोचेजस्तो जीवनशैली जिउने नेपालीहरूको सङ्ख्या भने निकै कम छ। सुन्दर जीवनको कल्पना गर्दै अस्ट्रेलीया आए पनि यहाँ आएपछिको व्यथा भने अर्कै हुन्छ।

सुन्दै आएको अस्ट्रेलीया र वास्तविक भोगाइको अस्ट्रेलीयामा व्यापक अन्तर भएकाले मानिसहरूमा निराशा छाउँछ।

स्टुडेन्ट भिसामा आउनेहरू जो सँग पैसा छ, उसले मात्र सहज तरिकाले आफ्नो अध्ययन अघि बढाउन सक्छ। पढ्ने खर्च जुटाउदै पढ्नेहरूका लागि अस्ट्रेलीया सहज रहेनछ। मैले अस्ट्रेलीयामा पुग्न पाए सबै समस्या आफैं समाधान हुन्छन् होला भन्ठानेको थिएँ तर संघर्षबिनाको अस्ट्रेलीया त अस्ट्रेलीया होइन, आँशुको पहाड पो रहेछ। त्यसमा पनि फरक भौगोलिक वातावरण र जीवन शैलीमा घुलमिल हुनु चुनौती बन्छ।

घरपरिवारको छत्रछायामा हुर्किएर अध्ययन गरेकाहरू र  आर्थिक अभाव नझेलेकाहरूका लागि अस्ट्रेलीया बिरानो बन्न सक्छ। समयको व्यवस्थापन गर्दै, अध्ययनलाई अघि बढाउँदै पैसा पनि कमाउनु पर्ने र अभिभावकत्व नपाउने भएकाले अस्ट्रेलीयामा रहेका कतिपय नेपालीहरूले आत्महत्या गरेका समाचारहरू पनि आइरहेका हुन्छन्। आफूले कल्पना गरेको समाजभन्दा भिन्न परिस्थितिको सामना गर्नु परेकाले निकै असहज स्थितिको सामना गर्नुपर्छ।

अस्ट्रेलीया यस्तो देश हो जहाँ कामबिना कोही पनि टिक्न सक्दैन। अस्ट्रेलीयनहरू कामलाई कहिल्यै पनि सानोठूलो भन्दैनन् र सबै कामलाई सम्मानले हेर्छन्। जो जुन क्षेत्रमा काम गरे पनि एउटै नजरले हेरिन्छ।  यहाँ समयको पनि त्यत्तिकै  महत्व हुन्छ। हरेक कुरा समयअनुसार गरिन्छ। टाइमअनुसार नै चलिरहेको हुन्छ, अस्ट्रेलीयन सिस्टम।

एकदुई हप्ता काम नहुनेबित्तिकै मान्छे घरबारबिहीन हुन्छु कि भन्ने सोच्न पुग्छ र  आफ्नो कामलाई  प्राथमिकतामा राख्छ।  जुनसुकै र  जसकोसुकै काम होस् आफ्नो काम सम्झेर गर्छ त्यही भएर होला आज अमेरिका हरेक कोणबाट अग्रपंक्तिमा छ।

अचेल लाग्छ- हामीले अस्ट्रेलीयाबाट केही सिक्नैपर्छ।

सिड्नी, मेल्बोर्न शहरमा रहेका अधिकांश नेपालीहरू रेस्टुरेन्ट, स्टोर, क्लिनिङ आदिमा काम गरिरहेका छन्।यहाँको लागि यो कमाइ न्यून हो।

जो लगनशील छ, उसले जहाँ  गए पनि अवसर  पाउँछ भनेझैं, आफ्नो पढाइलाई प्राथमिकता दिएर अरूमा होइन आफैंसँग जसले यहाँको उच्चशिक्षा हासिल गरेका नेपालीहरूले राम्रो काम पाउनुका साथै आर्थिक हैसियत पनि राम्रो बनाएका छन् तैपनि उनीहरूको जीवन सामाजिक हुन सकेको छैन।

तामझामका साथ व्यस्त समय समायोजन गरेर नेपाली चाडपर्वहरू मनाए पनि त्यसमा नेपालको जस्तो आफ्नोपनको साइनो भने हुँदैन। जसरी मेसिन लगातार चलिरहन्छ यहाँको नेपालीको जीवन पनि त्यसरी नै चलिरहन्छ कुनै भावनाबिना। पैसा कमाउने र जीवन बनाउने उद्देश्य बोकेर।

अचेल मलाई लाग्छ- जीवनमा सफलता हासिल गर्न अस्ट्रेलीयाकै सपना नै देख्नुपर्छ भन्ने केही रहेनछ, जो  जहाँ  भए पनि लगनशिलता  इमान्दारिताका साथ मेहनत गर्नुपर्दो रैछ।सँगसँगै समयको महत्व र आफ्नो कामप्रति माया र आदर गर्न सिक्नुपर्दो रैछ।

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal