eNepal

शिक्षकलाई चिठी

तपाईंले कक्षामा पढाइरहँदा

कयौंपटक भन्ने गर्नुहुन्छ 

नानीबाबुहरु ध्यान दिएर हेर

भाइ बहिनीहरु शान्त भएर सुन ।

नानीहरुलाई देशको कर्णधार भन्नुहुन्छ 

उनीहरू काँचो माटो हुन् भन्नुहुन्छ

उनीहरु खाली कागज हुन् पनि भन्नुहुन्छ

नानीहरु सुनिरहन्छन्

तपाईंको उपदेशका धारावाहिक शृङ्खलाहरु ।

पटक पटक यस्तै भन्दाभन्दै 

तपाईंको घण्टी सकिन्छ 

दिन सकिन्छ 

हप्ता, महिना अनि बर्ष सकिन्छ ।

यसरी नै बर्षभरि 

तपाईं बोलीरहनु हुन्छ

हल्ला गरिरहन्छन् मनमौजि नानीबाबुहरु ।

जब परीक्षाको दिन 

३ घण्टा तपाईं मौन बस्नुहुन्छ

हेर्नुस् त ! बिद्यार्थी कति चिन्तित छन् आाज ।

नढाँटि भन्नुस् सर 

गोठालो नै भइयो जस्तो लाग्छ कि लाग्दैन तपाईंलाई ।

सर नरिसाउनु होला

तपाईंले नै उनलाई अक्षर चिनाउनु भयो

मेरी छोरी आफै किताब पढ्न सक्छीन्

अब तपाईं पाठ पढेर सुनाउन बन्द गर्नुस् ।

पानीले बाटो आफैं बनाउछ सर

तपाईं पोखिदिनुस मात्र ।

कुलो खन्न बन्द गर्नुस् ।

फेदमा उकेरा लगाइदिनुस

मलजल फेदमै हालिदिनुस् ।

रुखलाई सलाइन चढाउन बन्द गर्नुस् ।

मैले घरमा सुगा पनि पालेको छु

हिजो उ आफै चरेर अघाउथ्यो

आज मेरो पाठ पढ्छ

मैसँग गुहार्छ भोक लागेपछि ।

देशका कर्णधार हुन भने

भोलीका चम्किला तारा हुन भने

धुलो, मैलो र दाग लाग्नबाट बचाइदिनुस्

रेति नलगाउनुस् ।

काँचो माटो होलान् कति

प्लटिङ्बाट बचाइदिनुस्

भोलि लटरम्म बाली फल्लान्

घैटो, खुत्रुके नबनाउनुस् ।

अन्तमा मेरो यत्ति अनुरोध छ सर !

यदि खाली कागज हुन् भने

यो काम तपाईंले मात्र गर्न सक्नुहुन्छ

मलाई विश्वास छ सर

एउटा सानो भुगोलको नक्सा भर्नुभन्दा 

बरु खेलौना सहि रकेट, हवाईजहाज बनाएर 

खुला आकाशमा हलुकासँग उडाउन दिनुस् ।

के थाहा , 

तपाईंले नै पढाएको उद्धेश्यजस्तो 

भोलि उडी चन्द्र छुन्छ कि एक !!

लेखकः प्रमोद अधिकारी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal