eNepal

मानवीय संवेदना हराएको देश

एउटा मान्छे बीच सडकमा लडेको छ, अरुलाई केही मतलव छैन । सवारीहरु तर्किएर गुडिरहेका छन् ।

बटुवाहरु त्यो लडेको मान्छेलाई लगभग नाघेर हिँडिरहेका छन् । छेवैका दोकानेहरु आफ्नै धन्दामा ब्यस्त र मस्त छन् । अलिक पर्तिर सिठी फुकिरहेको ट्राफिक प्रहरी लडेको यो मान्छेलाई देखेनदेखे झैं गरिरहेको छ । त्यसो त उसले लगाएको वर्दीमा यो मान्छेको पनि पसिना छ ।

दृश्य हिँजो बिहान मित्रपार्क चोकको हो । दृश्य केही बेर नियालिसकेपछि लाग्छ यो शहरमा मान्छेहरुको संवेदना मरिसकेको छ । यहाँ मान्छेहरुले नै मान्छेको मोल घटाएका छन् । अब यो शहर बस्न लायक रहेन ।

यहाँ मान्छेहरुको हृदय धुलो, धुँवा र कार्बनमोनोअक्साइडले खिया परिसकेको छ । मासु, रक्सी र खल्तीको दशबीस टक्काले मान्छेहरु यहाँ मातेका छन् । मात्तिएका छन् ।

ननुहाए पनि महँगा लुगा लगाउनेहरु, धुँवा, धुलो र कार्वनमोनोअक्साइडले फोक्सो जलेकाहरु, फास्टफुडले इन्जिन ध्वस्त भएकाहरुको बाहुल्यता रहेको नेपालको राजधानी अब रोगी मान्छेहरु बस्ने रुग्ण शहरमा तव्दिल भइसकेको छ । यहाँ कसैलाई कसैको केही मतलब छैन । मतलब छ त केवल स्वार्थ, स्वाद, सपना, सुनचाँदी… ।

बाटो हिँड्दा हिँड्दै छारे रोगले लडेको मान्छेको यो हालत देखेर मलाई यो देशमा मान्छेको मोल पनि थाहा पाउन मन लाग्यो । यस असभ्य र रोगी शहरमा साँच्चै कति हो त एउटा मान्छेको मोल ?
र, बाटोमा हिँड्दा हिँड्दै यो मान्छे ढल्न सक्छ भने, के एकदिन यो मान्छेको ठाउँमा म हुन सक्दिन ? तपाईं हुन सक्नुहुन्न ?

जुन देशमा मान्छेको मोल सकिन्छ, ढिलोचाँडो त्यो देश पनि विघटन हुन्छ । भात पाक्यो कि पाकेन भनेर एउटा सितो छाम्दा थाहा लाग्छ, पुरै भाँडाको भात जाँचिरहनु पर्दैन । नेपाल देशको हालत पनि सडकमा ढलेको एउटा मान्छेले दर्शाइरहेको छ, उसको टाउकोबाट झरेको छेवैको नेपाली टोपीले पनि केही त जनाइरहेको छ ।

( लिलाराज खतिवडाको फेसबुकमा पोष्ट गर्नुभएको यो खबर घटना र विचारबाट लिइएको हो)

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal