“दशै आयो, खाउला पिउला, कहाँ पाउला, थुक्क पापी म त छुट्टै बसौला| त्यही भएर बुढी औंला अरु भन्दा भिन्नै बसेको है बुडी माउ” हिजो जस्तो लाग्छ आमासँग हत्केलाका पाँच औंला देखाउदै येसो भनेको|
दशै तिहारको लागि आमा रातो माटो र कमेरो लिन तल बिसी तिर जान्थिन, बा खशी हेर्न पल्ला गाउतिर जान्थे| शहर गएका दाजु-भाउजु, काका-काकी सबै मुल घरमा जम्मा हुन्थे| बर्ष भरी सुतेको डाँडाको घर हरियाली लिएर फेरी बिउझीन्थ्यो| फुलपातिको दिन ठुलागाउँमा पिङ हाल्थे| पिङको नाम सुनेपछी मलाई भात पनि नचाहिने| तल्ला गाउँका मान्छेहरु बोको पूजा गर्न माथि डाँडा तिर लाग्थे म चै मान्छे पन्छ्याउदै तल तिर पिङ हालेको हेर्न जान्थे|
राती घर फर्किदा आमाले निक्कै गाली गर्थिन “|घरमा खशी काट्या छ, यस्लाई भने लखर-लखर गाउँ डुल्दै ठीक्क छ| रक्ती र कान पल्लाघरे माइलाका सन्तानले सकिसके|” मलाई रक्ती र पोलेको कान निक्कै मन पर्ने, निरास हुँदै अंगेनामा आगो ताप्न जान्थे त्यहाँ मैले खाने गरेको खन्डे थालमा राखिएको हुन्थ्यो| घरमा जती पाहुना हुन, खाने कुरा जती थोरै पाकोस र म जुन ठाउँमा जाउ फर्केर आउँदा मेरो थालमा पाकेको कुरा सधैं राखिएको हुन्थ्यो| आमाको ममता कस्तो हुन्छ आफ्नो बल्यकाल सम्झिनुस्|
टिकाको दिन घरमा टिका लगाएपछी दक्षिणा नपाउदा म रोएको थिए, यो देखेर आमाले भोटोको गोजिमा सुटुक्क पाँच रुपैया हल्दिनु भएको| टिकाको पाँचै दिन मिलाएर कस्ले बढी पैसा कमाउने भन्ने कुरामा भाईको र मेरो झगडा पर्थ्यो|
खै कहाँ गए ति मासुको चौटामा झगडा गरेका दिनहरु, खै कहाँ गए ति औंसीमा जुनकिरी समात्न भागेका दिनहरु, खै कहाँ गए ति बाख्राका पाठिसँग लुकामारी खेलेका दिनहरु, खै कहाँ गए ति दुधको लागि ठुलो गिलास नपाउदा रोएका दिनहरु| अहिले त म साचै ठुलो भयँ जस्तो लाग्छ| म अहिले पैसाको लागि झगडा गर्दै छु, भबिस्य बनाउन भाग्दै छु, बर्तमान सँग लुकामारी खेल्दै छु, भुत सम्झेर रुँदै छु|
अहिले तिम्रो छोरो ठुलो भैसक्यो आमा, तिमीले थाम जत्रा तिघ्रा बनाइदी हालेउ अब तिम्रो छोरो भएको बर्तमान छोडेर हुनेवाला भबिस्यका लागि बाँच्दै छ| भबिस्यमा बुढी भएर हस्पिटलको बेडमा थला परौली अनी तिमीसँग मजाले गफ गरौला, समय कटाउला, तिमीले मेरो हरेक पाइलामा गरेको योग्दान सम्झिदै रोउँला|
अहिलेलाई दिनमा एक घण्टा कुरा गर्न मोबाइल छदै छ, बर्ष म एक पट घर आउन हावाइ टिकट छदै छ| अहिले तिम्रो छोरो भबिस्य बनाउन भाग्दै छ आमा कुनै दिन फोन गर्न पाइन भने नरोउ| भबिस्यमा टन्न पैसा कमाउछु अनी सँगै घरमा बसौला, चिन्ता नगर तिम्रो उमेर फेरी किन्दिउला अनी तिमीले भनेको सारी मा नाच्नु, तिमीले भनेको ठाउँ घुम्नु, मलाई फेरी गाली गर्नु|
लेखक: कुशल डोटेल

