त्यसो त नेपाली आहान छ “एउटाको जरो नखनी अर्काको ओखती हुन्न” । त्यो आहान सिन्धुपाल्चोकमा सत्प्रतिशत मेल खाएको छ । मानव वेचविखन, चन्दन तस्कर, सुन तस्कर, प्रकृतिको विपदहरुमा जिल्ला लुट्ने(सत्ताधारी, वर्दीधारी, कुर्सीधारी र विस्तारवादी एनजीओआएनजीओ)हरुको मिलिभगतमा भएको एउटा अर्को दमदार ब्रम्हलुटको पछिल्लो उदाहरण हो यो ।
तातोपानी नाकाबाट तस्करी घटे पनि जुरे पहिरो र भुकम्प गएपछि खनिएका जरोहरुले थुप्रै कर्मचारी, राजनीति एवम् तथाकथित संघसंस्थाहरुको अचुकै ओखती भएको छ । कमाउने धन्दा भएको छ । आफू सप्रने माध्ययम भएको छ ।
सिन्धुपाल्चोक जुरेबाट अभिभाबक मरेपछि विस्तापित यी अवोधहरुको आर्तनाद र आँसुको श्राप जुरे पहिरोबाट उठेको राहत खानेहरुलाई लाग्ने छ । साँपले कुण्डली मारेर बसे झै बसेकाहरुले (देखिएको हिसाब राखेको २ करोड ४५ लाख) हिनामिना गर्न हिसाव नराखिएको करोडौ रुपैया पच पार्न लागि सकेका छन् । त्यही पीडाबाट पीडित भएका यी बालकहरु यति बेला सडकमा लागु औषधको दुर्व्यसनी भएर मगन्ते भएका छन् ।
यिनीहरुको अवस्था, यिनीहरुको वास्तविकता देखेपछि, सुनेपछि एकपल्ट फेरि शासन व्यवस्था प्रति प्रश्न- प्रतिप्रश्न गर्न मन लाग्छ- के यो देश यिनीहरुको हो ? यो संघीयलोकतान्त्रिकगणतन्त्र यिनीहरुको लागि पनि हो ? त्यसै रगत उम्लन खोज्छ, च्याठि्ठन मन लाग्छ र भन्न मन लाग्छ-“संघीयलोकतान्त्रिकगणतन्त्र -मुर्दावाद” ।
“बाल मैत्री शासनः बाल अधिकारको सम्मान, बालबालिकाको क्षेत्रमा लगानी बढाऔं, शान्त र सम्वृद्ध नेपालको निर्माण गरौं” भन्ने नाराहरु फलाक्दै यति बेला जिल्लामा बाल दिवस मनाउने अग्रपङ्तीमा तिनै साँपहरु छन् । ठूला कुरा तिनै गर्ने गर्छन । धिक्कार छ यस्ता बालकहरुको स्वर्णीम भविष्य घटोला गरेर तिमीहरुले कमाएको धनले सधै पोलोस् । कहिल्यै जय नहोस् । खिईँदै जाऊन तिम्रा प्रगतिका हर पथहरु ।
देश विदेशबाट एकत्र भएका राहत सामग्री, करोडौं-करोड पैसा छ, छ, छ भनिरहेको छ प्रशासन तर यी बालबालिकाको हालत यस्तो छ । १ सय ५० भन्दा बढी विस्तारवादीहरु(एनजीओआएनजीओ) यो गर्यौं त्यो गर्यौं भनेर ४६ अरब भन्दा बढी खर्च भएको हुईऽऽया पिटिरहेका छन् । कसलाई के गर्यौ भनेर सोध्ने को ? सबै मिलेका छन् । मनपरी छूट दिएका छन् । कागजी प्रलापमा संसारै बदलेको हौवा छरिएको छ । र वास्तविकता यस्तो छ । यो त एउटा प्रतिनिधि दृष्य मात्र हो ।
श्राप लागोस्- पापीहरुलाई जो अर्काको आँसु झारेर आफू हाँस्छ, अरुलाई मारेर आफू बाँच्छ ।
Amit Ghimireजिको वालबाट साभार




