eNepal

भिषा लाग्दा सम्झे लाईफ बन्यो तर लाईफ बनाउन सजिलो कहाँ पो रहेछ र

पुतली सडकमा फ्याटफ्याटे चप्पल लाएर कन्सल्टेन्सी धाएको हिजो जस्तै लाग्छ। एउटै घरमा आधा दर्जन जति कन्सल्टेन्सी थिए। ती मध्य राम्रो छान्न बढो गार्हो थियो। सिड्नीको ओपेरा हाउस अगाडीको ग्रेजुएसनको फोटोमा सजिएकी सुन्दर युवतीलाई देख्दा मैले त्यहि बेला आफुलाई त्यहि फोटो अगाडी उभ्याएर धेरै सपना बटुलेको थिएँ। गएर पढ्छु अनि पढाई सकेर आफुले रोजेको काम गर्छु। बा आमालाई ग्रेजुएसनमा घुम्न बोलाउँछु। बा आमाले भने जस्तो अनि आफुले रोजेकी बुहारी घरमा भित्राउँछु। केही बर्ष दुख गरेर करियर बनाउँछु अनि आफुलाई सेटल गरेर बच्चा बच्ची पाउँछु।

म ब्याच्लरको अध्ययन गर्दै थिए। अन्तिम सेमेस्टरको परिक्षा दिएर बसेको थिएँ। नेपाल बसेर लाईफ बन्दैन बोरु बिदेश जा भन्ने धेरै थिए तर कमैले भन्थे होईन नेपालमै बस्। हुन त नेपालमै बसेको भए जागीर राम्रै खाईन्थ्यो तर पनि बिदेश जाने भुतले झ्याप्पै छोएको थियो।बिदेश जाने सँस्कारनै बनी सकेको थियो। फलानोको छोरो गयो, पिआर पाएर क्या लाईफ स्टाईल जिएको छ। फलानी अस्ती भर्खर गएकी बिहे गएर क्या लाईफ छ। केटो पिआरवाला परेछ। गएको बर्ष दिनमै क्या उधुमैको घर किनेछन्। 

घर किनेको देख्छन् तर ति केटाले कसरी पिआर पाए त्यसको पछाडी जाँदैनन्। घरको फोटो देखेर प्रगती गरेको देख्छन्।केटाले कति हण्डर खाए त्यो घर बनाउने अवस्थामा पुग्नको लागि त्यसको लेखाजोखा खासै हुँदैन। खाली तस्बीर बोल्छ अहिलेको समाजमा। तस्बीर भित्र लुकेका अन्तरकुनाका भावना खासै चासो दिदैन।

हुन पनि धेरैको जोडी देखियो, बुझीयो। जसले सँगै आए पढे, दुख गरे अनि पिआरको लागि सङ्घर्ष गरे तिनीहरु खासै मात्तिएका देखिदैन तर जो सेटल भएको केटोसँग बिहे गरेर आए, सङ्घर्ष भनेको के हो खासै भोगेनन्। आउन साथ खातामा टन्न पैसा देखे। अभावको कुनै अनुभुती गरेनन्। त्यस्ताहरु भने प्राय साँच्चै टुप्पैबाट पलाए जस्ता पनि भेटिए, निमट्ठीएका।

भोगे पछि थाहा पाईने रहेछ। घरमा पैसा माग्दा नदिदाँ घरको ढोकालाई सकेको बलले हान्ने म आफुले जव कडा परिश्रम गरेर कमाउन थाले अनि थाहा पाए त्यो बेला किन पैसा दिन कन्जुसाई गरेका रहेछन् बा आमाले। घण्टा घण्टा हानी जोगाएको पैसा सरलक्क कलेजलाई बुझाउँदै गर्दा थाहा पाए बा किन आमासँग रातभर गनथन गर्थे भनेर। किन बिहानै झिस्मिसेमा उठेर जान्थे भनेर।

हुन त काठमाण्डौको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट पहिलो पटक ठुला हवाईजहाज चड्दै गर्दा प्राय सबैले अव चाँही लाईफ बन्ने भयो भन्ने सोचका साथ जन्मभुमीको माटोलाई स्पर्ष गरेर जहाजलाई ढोग्दै उडेका हुन्छन्। उड्दै गर्दा अर्को बर्ष यसो गर्छु, दुई बर्ष पछि उसो गर्छु, पाँच बर्ष सम्ममा यति गरि सक्छु भनेर सपनाहरु बुन्दै काठ्माण्डौलाई फेरो लगाएर उडेका हुन्छन्। थोरैका सपना पुरा हुन्छन्, केहीका सपना आधा गाँसमै ढुङ्गा परेर छताछुल्ल हुन्छन् त केहीका सपना राता बाकस भित्र बिलाएर जान्छन्।

सजिलो कहाँ पो हुन्छ र बिदेशको बसाई। ति देशका नियमहरु आफ्नै हुन्छन्। पालना गर्नै पर्यो।बिदेश भने पछि डलरको खेती गरिन्छ जसरी सोचर आईन्छ। एकातिर आउँदाको ऋण तिर्न सकेको हुँदैन बिचमा आई पर्ने अनगिन्ती प्वालहरु टाल्दा टाल्दा न दिनको भोक भन्न पाईन्छ न त रात। केही सहज बनाउँला नि त भनेर पढ्यो पढ्यो, अहँ झन् गार्हो बनाउँछ। एक ठाउँमा बल्ल काम कुरोको मेसो मिलेको हुन्छ, अनि फलानो गाउँमा गयो भने सजिलो हुन्छ कि भनेर फेरी पोकापन्तुरो बोकेर हिड्न पर्छ।एउटाले हो हो भन्छ त्यसकै पछि हैसे भनेर दगुर्यो। दगुर्दा दगुर्दै कति बर्ष बित्छ थाहा पाईदैन।

पैसा बोरामा फल्छन्, अस्ट्रेलीया अनि अमेरीका भने पछि पैसो टिप्न जाने हो, त्यहाँ त मान्छेले सुनकै थालमा खान्छन् चौरासी ब्यन्जननै हसुर्छन् भनेर फेसबुकमा अपलोड गरिएका तस्बिर माथि ठुलो भरोषा राख्दा धेरैको अबस्था घरको न घाटको जस्तो भएको छ। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal