सन् २०१४ को मे मा जापानमा पढीरहेका २६ वर्षिय नेपाली विद्यार्थी रविन घेमोसुको शव पश्चिम टोकियोको फुस्सास्थित जंगलमा फेला परेको थियो । उनले आफ्नो फेसबुकमा ‘जीवन निकै कठिन भएको छ’ भन्ने पोष्ट पनि गरेका थिए । उनको बेडरुमको भित्तामा बीमाका बिल तथा ऋणसम्बन्धी रसिदहरु पनि टाँसिएका थिए । साथमा एक्लोपनसम्बन्धी नोटहरु पनि बरामद गरिएको थियो । उनको बैंक खातामा केही रकम बाँकी रहेको र आफ्नो मृत्युपछि पनि उनले आफ्ना साथीभाइको थोरै भएपनि ऋण चुक्ता गर्न चाहेको उनले लेखेको नोटबाट प्रष्ट हुन्छ ।
उच्च शिक्षा पुरा गरेपछि घेमोसु सन् २०१० को अक्टोबरमा जापानी भाषा स्कूलका विद्यार्थीका रुपमा जापान आएका थिए । त्यसको केही समयपछि एकै टोल र ठाउँबाट आएका उनका मित्र रुकेश गोसाइ पनि त्यहिँ आए । उनीहरु एकै कोठामा बस्थे र एक फ्यामिलि रेष्टुेराँ चेनमा पार्ट टाइम जागिर पनि सँगै खान थाले । उनीहरुले जापानी भाषा सिक्नका लागि एक अर्कासँग जापानी नै कुराकानी गर्न थाले । आफूहरु साथीभन्दा पनि दाजुभाइ जस्तो भएको र नेपाली पर्वहरुमा सँगै पिउने गरेको गोसाइले बताए ।

रुकेश गोसाइ, आफ्ना साथी रविन घेमोसु हिड्ने गरेको बाटोमा उभिंदै, अप्रिल १३, २०१९ ( माइनिची, नाओकी वातानावे)
जापान आएलगत्तै घेमोसुको फेसबुकमा साथीसँग घुमफिर गरेका तस्वीरहरु समावेश हुन्थे । केही समयपछि भने उनले एक्लोपनको महसुस अलि बढी नै गर्न थाले । उनी साथीभाइसँग धेरै नबोल्ने, मजाक गर्दा पनि व्यक्तिगत रुपमा लिएर रिसाउने गर्न थाले । स्कूलमा पनि विवादमा उनी मुछिए र गोसाइले प्रधानाध्यापकसँग माफि समेत मागेका थिए । सन् २०१३ को मार्चमा अचानक घेमोसुले आफू एक्लै बस्न चाहेको कुरा गोसाइलाई बताए । गोसाइलाई यो कुरा सहज नलागे पनि अन्ततः उनीहरु छुट्टै बस्न थाले । त्यसपछिका दिनहरुमा काममा समेत उनीहरुबीच खासै बोलचाल हुँदैन थियो र त्यसको एक वर्षपछि घेमोसुले आफ्नो जीवन समाप्त गरे ।
सन् २०१९ को मार्चमा यस लेखका पत्रकार नेपाल गएर जापान आउनु अघि घेमोसुको जीवन कस्तो थियो भन्ने बुझ्न तिर लागे । राजधानी काठमाडौंदेखि एक घण्टाको दूरीमा पर्ने प्राचिन शहर भक्तपुरमा घेमोसुका परिवारको एक कुखुरा फार्म चलाएर जिविकोपार्जन गर्ने गरेको पाइयो । उनका पिता अझै पनि आफ्नो छोरा अब कहिल्यै फर्केर नआउने कुरामा विश्वास गर्दैनन् । आफ्नो छोरा जापान जान चाहेको कुरा सुनेर आफू खुशी भएको तर उनले मृत्युको बाटो किन रोजे भन्नेबारे आफूलाई केही थाहा नभएको उनले बताए ।
तीन छोराछोरीमध्ये सबैभन्दा कान्छा घेमोसु सानोमा एनिमेशन मन पराउँथे । उनलाई जापानी सिडिहरु संकलन गर्ने सौख थियो । उनले चपस्टिक्स चलाउन पनि सिकेका थिए । आफ्नो छोरालाई विदेश पढाउन पिता विष्णुले करीब ११ हजार डलर बराबर ऋण समेत लिएका थिए । पार्ट टाइम जागिर खाएर घेमोसुले ५० हजार र १ लाख येन घर समेत पठाएका थिए । तर कहिलेकाहिँ घरमा फोन गर्दा आफू काम र पढाइबाट तनावग्रस्त भएको र एक्लोपनको महसुस हुन थालेको घेमोसुले बताउने गरेको उनकी दिदि सुनीताले बताइन् । जापान आएको तीन वर्ष चार महिनापछि एकपटक मात्र सन् २०१४ को फेब्रअुरीमा उनी घर आए । घर आएको बेलामा उनी खुशी थिए । साथीभाइसँग रमाएका थिए । तर उनको आँखामा पीडा देखेकी आमा नुचे केशरीले उनलाई जापान नजान आग्रह गरेको भएपनि उनी चुपचाप फर्किएका थिए ।

रुकेश गोसाइ, बायाँ र रविन घेमोसु संगै फोटो खिचाउँदै, २०१२ मा खिचिएको (रुकेशले उपलब्ध गराएको फोटो)
सोही वर्षको मे महीनामा घरमा पितालाई फोन गरेर उनले आफू नेपाल फर्किन चाहेको कुरा बताए । उक्त दिन आफ्नो छोराको स्वर पहिलाजस्तो नभएको विष्णुले बताए । उनको स्वरमा तनाव र डर मिसिएको उनी बताउँछन् । केही समयपछि घेमोसु गोसाइको अपार्टमेण्टमा गएर आफूहरु फेरी सँगै बस्ने आग्रह गरे । तर गोसाइले त्यस कुरालाई अस्विरका गरे । घेमोसु चुपचाप त्यहाँबाट हिँडे । त्यसको केही दिनपछि घेमोसुको शव फेला पर्यो । मनमनै गोसाइले थुपै्रपटक माफि मागिसकेको बताउँछन् । त्यस दिनको आफ्नो व्यवहारले आफूलाई निकै ग्लानी महसुस भएको उनी बताउँछन् । टोकियोको अन्तिम संस्कार हलमा उनको अन्तिम संस्कार पुरा गरिएको थियो । गोसाइ र उनका साथीहरुले रकम संकलन गरेर घेमोसुका पिता विष्णुलाई जापान झिकाइएको थियो । उनले घेमोसुको अस्तु आफूसँगै नेपाल लगे ।
उनको मृत्युपछि उनले जापानमा पढ्दा लागेको १२ लाख येन रकम नतिरेको पाइयो । उनका अभिभावकले आफ्नो जमिन विक्री गरेर सो ऋण चुक्ता गरेका थिए ।

रविन घेमोसुका आमा बुवा, केशरी न्हुछे, दायाँ र बिष्णु बायाँ, छोराको फोटो हेरेर आँसु बगाउँदै, भक्तपुर नेपाल, मार्च ४, २०१९ (फोटोः माइनिची, जुन कानेको)
गोसाइ जापान आएको पनि ८ वर्ष भइसक्यो । उनले पनि जापानमा आफ्नो ट्युशन फि तिर्न साथीभाइसँग ऋण लिएका रहेछन् । यसै वर्षको अप्रिलदेखि टोकियोस्थित एक सूचना प्रविधि कम्पनीमा काम गर्न थालेका उनी जापानको काम नसकुञ्जेल घर फर्किन सक्ने अवस्थामा नरहेको बताउँछन् ।
गत वर्ष जापानमा ३ लाख ३७ हजारको संख्यामा विदेशी विद्यार्थी रहेको न्याय मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । यसमा सबैभन्दा धेरै चिनियाँ विद्यार्थी रहेका थिए । सो अवधिमा चीनबाट १ लाख ३२ हजार ४ सय, भियतनामबाट करीब ८१ हजार र नेपालबाट २९ हजार विद्यार्थी जापान आएका थिए । विदेशी विद्यार्थीको आत्महत्यासम्बन्धी तथ्याङ्क संकलन गरिएको त छैन तर एक अन्तरराष्ट्रिय गैरसरकारी संगठनमा काम गर्ने विजय ज्ञवालीले गरेको आफ्नै अनुसन्धानअनुसार भने सन् २०१७ मा जापानमा मृत्यु भएका कम्तिमा पनि १५ नेपालीमध्ये ८ जनाले चाहिँ आत्महत्या गरेका थिए । सन् २०१८ मा उनले ३ सय ५३ जना विदेशी विद्यार्थीमाझ गरेको सर्वेक्षणमा १ सय ९८ जनाले आफूहरु कुनै आर्थिक चिन्ताका कारण तनावमा रहेको अभिव्यक्ति दिएका थिए भने यहाँ आफूलाई सहयोग गर्ने कोही पनि छैन भन्ने कुराले आफू तनावमा रहेको बताउनेको संख्या १ सय १५ जना रहेका थिए ।
(माइनिची सिन्बुनका लागि Jun Kaneko ले लेखेको लेखको नेपाली अनुवाद)

