eNepal

जापानमा नेपाली विद्यार्थीको आत्महत्याले उजागर गरेको समस्या

सन् २०१४ को मे मा जापानमा पढीरहेका २६ वर्षिय नेपाली विद्यार्थी रविन घेमोसुको शव पश्चिम टोकियोको फुस्सास्थित जंगलमा फेला परेको थियो । उनले आफ्नो फेसबुकमा ‘जीवन निकै कठिन भएको छ’ भन्ने पोष्ट पनि गरेका थिए । उनको बेडरुमको भित्तामा बीमाका बिल तथा ऋणसम्बन्धी रसिदहरु पनि टाँसिएका थिए । साथमा एक्लोपनसम्बन्धी नोटहरु पनि बरामद गरिएको थियो । उनको बैंक खातामा केही रकम बाँकी रहेको र आफ्नो मृत्युपछि पनि उनले आफ्ना साथीभाइको थोरै भएपनि ऋण चुक्ता गर्न चाहेको उनले लेखेको नोटबाट प्रष्ट हुन्छ ।

उच्च शिक्षा पुरा गरेपछि घेमोसु सन् २०१० को अक्टोबरमा जापानी भाषा स्कूलका विद्यार्थीका रुपमा जापान आएका थिए । त्यसको केही समयपछि एकै टोल र ठाउँबाट आएका उनका मित्र रुकेश गोसाइ पनि त्यहिँ आए । उनीहरु एकै कोठामा बस्थे र एक फ्यामिलि रेष्टुेराँ चेनमा पार्ट टाइम जागिर पनि सँगै खान थाले । उनीहरुले जापानी भाषा सिक्नका लागि एक अर्कासँग जापानी नै कुराकानी गर्न थाले । आफूहरु साथीभन्दा पनि दाजुभाइ जस्तो भएको र नेपाली पर्वहरुमा सँगै पिउने गरेको गोसाइले बताए ।

रुकेश गोसाइ, आफ्ना साथी रविन घेमोसु हिड्ने गरेको बाटोमा उभिंदै, अप्रिल १३, २०१९ ( माइनिची, नाओकी वातानावे)

जापान आएलगत्तै घेमोसुको फेसबुकमा साथीसँग घुमफिर गरेका तस्वीरहरु समावेश हुन्थे । केही समयपछि भने उनले एक्लोपनको महसुस अलि बढी नै गर्न थाले । उनी साथीभाइसँग धेरै नबोल्ने, मजाक गर्दा पनि व्यक्तिगत रुपमा लिएर रिसाउने गर्न थाले । स्कूलमा पनि विवादमा उनी मुछिए र गोसाइले प्रधानाध्यापकसँग माफि समेत मागेका थिए । सन् २०१३ को मार्चमा अचानक घेमोसुले आफू एक्लै बस्न चाहेको कुरा गोसाइलाई बताए । गोसाइलाई यो कुरा सहज नलागे पनि अन्ततः उनीहरु छुट्टै बस्न थाले । त्यसपछिका दिनहरुमा काममा समेत उनीहरुबीच खासै बोलचाल हुँदैन थियो र त्यसको एक वर्षपछि घेमोसुले आफ्नो जीवन समाप्त गरे ।

सन् २०१९ को मार्चमा यस लेखका पत्रकार नेपाल गएर जापान आउनु अघि घेमोसुको जीवन कस्तो थियो भन्ने बुझ्न तिर लागे । राजधानी काठमाडौंदेखि एक घण्टाको दूरीमा पर्ने प्राचिन शहर भक्तपुरमा घेमोसुका परिवारको एक कुखुरा फार्म चलाएर जिविकोपार्जन गर्ने गरेको पाइयो । उनका पिता अझै पनि आफ्नो छोरा अब कहिल्यै फर्केर नआउने कुरामा विश्वास गर्दैनन् । आफ्नो छोरा जापान जान चाहेको कुरा सुनेर आफू खुशी भएको तर उनले मृत्युको बाटो किन रोजे भन्नेबारे आफूलाई केही थाहा नभएको उनले बताए ।

तीन छोराछोरीमध्ये सबैभन्दा कान्छा घेमोसु सानोमा एनिमेशन मन पराउँथे । उनलाई जापानी सिडिहरु संकलन गर्ने सौख थियो । उनले चपस्टिक्स चलाउन पनि सिकेका थिए । आफ्नो छोरालाई विदेश पढाउन पिता विष्णुले करीब ११ हजार डलर बराबर ऋण समेत लिएका थिए । पार्ट टाइम जागिर खाएर घेमोसुले ५० हजार र १ लाख येन घर समेत पठाएका थिए । तर कहिलेकाहिँ घरमा फोन गर्दा आफू काम र पढाइबाट तनावग्रस्त भएको र एक्लोपनको महसुस हुन थालेको घेमोसुले बताउने गरेको उनकी दिदि सुनीताले बताइन् । जापान आएको तीन वर्ष चार महिनापछि एकपटक मात्र सन् २०१४ को फेब्रअुरीमा उनी घर आए । घर आएको बेलामा उनी खुशी थिए । साथीभाइसँग रमाएका थिए । तर उनको आँखामा पीडा देखेकी आमा नुचे केशरीले उनलाई जापान नजान आग्रह गरेको भएपनि उनी चुपचाप फर्किएका थिए ।

रुकेश गोसाइ, बायाँ र रविन घेमोसु संगै फोटो खिचाउँदै, २०१२ मा खिचिएको (रुकेशले उपलब्ध गराएको फोटो)

सोही वर्षको मे महीनामा घरमा पितालाई फोन गरेर उनले आफू नेपाल फर्किन चाहेको कुरा बताए । उक्त दिन आफ्नो छोराको स्वर पहिलाजस्तो नभएको विष्णुले बताए । उनको स्वरमा तनाव र डर मिसिएको उनी बताउँछन् । केही समयपछि घेमोसु गोसाइको अपार्टमेण्टमा गएर आफूहरु फेरी सँगै बस्ने आग्रह गरे । तर गोसाइले त्यस कुरालाई अस्विरका गरे । घेमोसु चुपचाप त्यहाँबाट हिँडे । त्यसको केही दिनपछि घेमोसुको शव फेला पर्यो । मनमनै गोसाइले थुपै्रपटक माफि मागिसकेको बताउँछन् । त्यस दिनको आफ्नो व्यवहारले आफूलाई निकै ग्लानी महसुस भएको उनी बताउँछन् । टोकियोको अन्तिम संस्कार हलमा उनको अन्तिम संस्कार पुरा गरिएको थियो । गोसाइ र उनका साथीहरुले रकम संकलन गरेर घेमोसुका पिता विष्णुलाई जापान झिकाइएको थियो । उनले घेमोसुको अस्तु आफूसँगै नेपाल लगे ।

उनको मृत्युपछि उनले जापानमा पढ्दा लागेको १२ लाख येन रकम नतिरेको पाइयो । उनका अभिभावकले आफ्नो जमिन विक्री गरेर सो ऋण चुक्ता गरेका थिए ।

रविन घेमोसुका आमा बुवा, केशरी न्हुछे, दायाँ र बिष्णु बायाँ, छोराको फोटो हेरेर आँसु बगाउँदै, भक्तपुर नेपाल, मार्च ४, २०१९ (फोटोः माइनिची, जुन कानेको)

गोसाइ जापान आएको पनि ८ वर्ष भइसक्यो । उनले पनि जापानमा आफ्नो ट्युशन फि तिर्न साथीभाइसँग ऋण लिएका रहेछन् । यसै वर्षको अप्रिलदेखि टोकियोस्थित एक सूचना प्रविधि कम्पनीमा काम गर्न थालेका उनी जापानको काम नसकुञ्जेल घर फर्किन सक्ने अवस्थामा नरहेको बताउँछन् ।

गत वर्ष जापानमा ३ लाख ३७ हजारको संख्यामा विदेशी विद्यार्थी रहेको न्याय मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । यसमा सबैभन्दा धेरै चिनियाँ विद्यार्थी रहेका थिए । सो अवधिमा चीनबाट १ लाख ३२ हजार ४ सय, भियतनामबाट करीब ८१ हजार र नेपालबाट २९ हजार विद्यार्थी जापान आएका थिए । विदेशी विद्यार्थीको आत्महत्यासम्बन्धी तथ्याङ्क संकलन गरिएको त छैन तर एक अन्तरराष्ट्रिय गैरसरकारी संगठनमा काम गर्ने विजय ज्ञवालीले गरेको आफ्नै अनुसन्धानअनुसार भने सन् २०१७ मा जापानमा मृत्यु भएका कम्तिमा पनि १५ नेपालीमध्ये ८ जनाले चाहिँ आत्महत्या गरेका थिए । सन् २०१८ मा उनले ३ सय ५३ जना विदेशी विद्यार्थीमाझ गरेको सर्वेक्षणमा १ सय ९८ जनाले आफूहरु कुनै आर्थिक चिन्ताका कारण तनावमा रहेको अभिव्यक्ति दिएका थिए भने यहाँ आफूलाई सहयोग गर्ने कोही पनि छैन भन्ने कुराले आफू तनावमा रहेको बताउनेको संख्या १ सय १५ जना रहेका थिए ।

(माइनिची सिन्बुनका लागि Jun Kaneko ले लेखेको लेखको नेपाली अनुवाद)

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal