इ नेपाल देबराज दुलाल
By mausam sapkota
स्ट्राथफिल्ड, सिड्नि
पुजनिय आमा,
ढोग छ!
आमा, आज मातातिर्थ औँशि! खोई कहाँबाट सुरू गरूँ? मनमा तिम्रा लागि हजार भावहरू छन् तर ति भावहरू पोख्ने शब्द कतै भेटेको छैन!मान्छेहरू भन्ने गर्छन् भगवानको कृपाले सबै ठीक हुँदै छ तर भन्छन् भगवान देखेको छैन! म भन्छु आमा मैले भगवान् देखेको छु! मैले तिमीमा भगवान देखेको छु! नत्र मलाई यहाँ परिस्थितिका तरंगहरूले टाउको दुखाउँदा तिमी कसरी थहा पाउँछ्यौ? नत्र पेन किलरले सन्चो नभएको दुखाई तिम्रा आवाज सुन्ना साथ कसरी कम हुन्छ? मलाई रातमा निद्रा नलाग्दा आधा रातमा झस्किएर कसरी फोन गर्छ्यौ? भगवान संसारको सृस्टिकर्ता हुन् रे! अनि मेरो संसारको सृस्टि तिमीबाट नै त भयो आमा! त्यसैले तिमी देवि हौ आमा!
आमा! म आज तिमीबाट टाढा छु! धेरै टाढा! सात समुन्द्र पारी! हिजो राती सपनीमा देखेको थिएँ तिमीलाई! तिम्रो काखमा यो शिर राखि निदाएको थिएँ जुन निद्रा म ननिदाएको धेरै दिन बितिसक्यो! आमा परिस्थितिले आज टाढा बनाएको छ! मेरा सपना र रहरसंगै मलाई बिदाई गरेको दिनबाट कुनै दिन तिमीले आँशु नझारेको दिन छैनन् होला! हरेक रात मेरो तस्विर मुटुमा च्यापि आँशुको भेल बगाउँछ्यौ होला! तिमीलाई बाडुल्कि लाग्दा पनि मलाई नै सम्झन्छ्यौ! मेरै उमेरका कोहि बाटोमा देख्दा मैलाई सम्झिन्छौ अनि आँखा भरिन्छन् र फोन गर्छौ! म यता कामको व्यस्तताले तिम्रा मायाका घण्टिहरू सुनेर पनि उठाउन पाउँदिन अनि तिमी निराश भएर नयनका पातालमा अडाएका आँशुहरू अनुहारको स्पर्श गराउँदै खसाल्छ्यौ! सपनामा तिमीसंगै भएको देख्छु तर विपनीमा यो अन्जान सहरमा आफूलाई पाउँछु! हरेक पाईलामा तिमीलाई सम्झन्छु! जब म भोको पेट लिएर घर फर्कन्छु अनि केहि देख्दिन आमा म तिम्रो हातले मलाई खुवाएको खाना झल्झलि सम्झिन्छु अनि आँखा भरिन्छन्! म सन्चो नभएर सुतेको रात तातो पानी दिने कोहि नहुँदा तिमी म बिरामी हुँदा रात रात जागेको सम्झिन्छु अनि आँखा भरिन्छन्!आमा तिम्रा मौनता म महसुस गर्छु! तिम्रा ओठका मुस्कान किन्न आज तिमीबाट टाढिएको छु! कोहि परदेशि सपनाका सुटकेस गुड्काउँदै गर्दा तिमी मलाई नै सम्झिन्छौ होला! आमा तिम्रा गालिमा पनि माया थिए! अक पटक फेरी मलाई त्यहि माया मिसिएको गालि सुन्नु छ! मलाई तिम्रो काखमा शिर राखि निदाउनु छ! तिम्रा रसाएका आँखा पुछ्नु छ! आमा मलाई फेरी तिम्रा हातले खुवाएको एकै गाँस भएपनि ममताका गाँस खानु छ!तिम्रा हरेक रहर पुरा गर्नु छ! तिमीले नफेरेको आशाका सारी फेर्नु छ! तिम्रा चाउरिएका आशाहरूलाई हँसाउनु छ! तिम्रा वाध्यताले फुटेका भाग्यका हातहरूमा मलम लगाउनु छ! साँच्चैनै आमा मलाई तिम्रै नजिक हुनु मन छ! जब तिमीलाई सम्झिएर आधा रातमा बेचैन हुन्छु तिम्रा तस्विर हेरी म पनि यादहरू आँशुले पखाल्छु! कहिलेकाहिँ काममा व्यस्त हुँदा हुँदै एक्कासि तिमीले मलाई बोलाएको झैँ लाग्छ अनि हतारिएर हेर्छु तर यि भोका आँखाहरूले तिम्रो उपस्थिति पाउँदैनन्!आमा तिमी मेरो कल्पना र सपनामा आईरहन्छौ तर यो बिरानो सहरमा हकिकतमै तिमी आईदिए….
आमा यति लेख्दा लेख्दै आँशुका धाराले चिठी लेख्दै गरेको आधा खालि यादका पाना भिजेछन्! लेख्दै गरेको भावनाका मसिहरू रूँदै छन्! आमा म भक्कानिँदै छु ! यहाँ भन्दा बढि केहि लेख्न सकिन!
आमा तिमीलाई मेरो न्यानो सम्झना र प्रगाढ माया छ! कुनै दिन देखेको सपनी पक्का विपनी बन्नेछन्!
उहि तिमीबाट टाढिएको छोरा
मौसम सापकोटा

