eNepal

रामप्रसाद भन्छन् ‘ऋण कमाउन विदेश गइएछ’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया जानुभयो । सन् २००१ मा रु ८५ हजार मेनपावर कम्पनीलाई बुझाएर मलेसिया जानुभएका आचार्यको कमाइ करिब रु १० हजार मात्र हुन्थ्यो ।

विदेश जाँदा काढेको ऋण तिर्नै उहाँलाई हम्मेहम्मे पथ्र्यो । काम गर्ने सिलसिलामा दशौँ महिनामा घरको छतबाट लडेर उहाँको खुट्टा भाँच्चियो । दश महिनासम्म कमाएको पैसाले उपचार गर्न पनि पुगेन ।

सत्र महिना मलेसियामै आराम गरेर उहाँ स्वदेश फर्कनुभयो । मलेसिया जाँदाको ऋण तिर्न आचार्य रु एक लाख १५ हजार ऋण खोजेर कतार लाग्नुभयो । “कतारमा शुरुमा भनेजस्तो काम र दाम पटक्कै भएन, सात वर्षसम्म पसिना बगाएर रु तीन लाख जम्मा गरेर २०६५ सालमा घर फर्किए,” उहाँले पीडा सुनाउनुभयो ।

करीब सात वर्षसम्म घरमै थकान मेट्नुभएका आचार्य २०७१ सालमा फेरि मलेसिया हान्निनुभयो । मलेसिया पुग्नुभएको चार महिना पुग्दा नपुग्दै आचार्यको धन्नैले मात्र ज्यान बच्यो । “इलेक्ट्रिसियनको काम गर्थें, काम गर्दै गर्दा छतबाट भुइँमा खसेछु,” उहाँले भन्नुभयो, “एक दिनभरि होसै आएन, धन्न समयमै उपचार पाएर ज्यान बचेको छ ।”

आचार्यको ज्यान त बच्यो तर हातखुट्टा दुवै बेकामे भए । टाउकोमा समेत गहिरो चोट लागेका आचार्य त्यहीको अस्पतालमा १० महिनासम्म रहनुभयो । “घरबाट रु सात लाख मगाएर उपचार गरी फर्किएँ,” विगत सम्झँदै आचार्य भन्नुहुन्छ, “ज्यान भत्काउन र ऋण कमाउन विदेश गइएछ ।”

शारीरिक अपाङ्गता भएर घर फर्कनुभएका आचार्यले हाल, थोरै लगानीमा घरमै सानो पसल शुरु गर्नुभएको छ । दुई छोरा र श्रीमतीको साथमा रहनुभएका आचार्यले हप्तामा दुईपटक लाग्ने दिक्तेलबजारको हटियामा कपडा पसल राखेर व्यापार गर्दैआउनुभएको छ । रासस

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal