गीता तिमील्सिना, मेल्बोर्न अस्ट्रेलीया
ढोका ढक ढक गरेको
आवाज सुनिन्छ
म उत्साहित हुन्छु, खुसिले नाच्छु र
दौड़दै ढोका खोल्छु, उसको लागी
तर यो के?
ऊ माग्छ म सँग मेरै परिचय
म सँग परिचय पत्र छैन
म दिन असमर्थ हुन्छु
ऊ सोध्छ म सँग लामो समय देखिका
अष्पस्ट हिसाब किताब
म सँग सही समय नाप्ने
डिजिटल घडी छैन
म बताउन असमर्थ हुन्छु
ऊ माग्छ म सँग जिवन भरिका
लेखा जोखा
मैले कुनै हिसाब राखेको छैन
म बुझाउन असमर्थ हुन्छु
ऊ फेरी म सँग बर्ष भरिको
भाका राखेर बिदा हुन्छ
म घोतलिंछु धेरै बेर
यो आतिसबाज़ी, यो हल्ला खल्ला
यो रंगीन माहोल, भोज भतेर
सबै उसैको स्वागतको तयारी थियो
सोचेको थिएँ
जब ऊ आऊनेछ
मेरो स्वागतको निम्तो मान्न
म देखाउनेछु आफ़ना सुनौला तयारिहरू
यो नशालू साँझ, यो रक्सिको मात
यो फूलको स्वागत
अनि यो संगीतको धून
बिर्सनेछ उसले आफूलाई
र आफ़ना बनाउन खोज्नेहरूलाई
म बताऊने छु उसलाई
यही हो त्यो समय जून म
कालान्तरदेखि हर समय
प्रतीक्षामा थिएँ
अनि सोचेको थिएँ
ऊ आफैं हर हिसाबको
हिसाब लगाऊने छ
र म आल्हादित मुस्कानमा
मुस्कुराउने छु
ऊ आएको थियो पोहोर साल पनि
यसरीनै मलाई प्रश्नहरूको घेरामा
थुनेर प्रताडित गर्न
म तेतिखेर पनि यसरी नै
निरुत्तर भएर उसलाई खाली हात
फ़ार्काएको थिएँ
कति छिटो भुलेको मैले
रोएको थिएँ म
अबिरल सागर बगाऊँदै आफ्ना
यी चक्षुहरूबाट
मुटुमा कुनै सारो चिज
हातले छोपेर लाज र पश्चातापले
मुख छोप्दै यसरीनै उसलाई
रित्तो फ़र्काएको थिएँ
ऊ तेतिखेर पनि यसरीनै
फेरी आऊने बाचा गर्दै
मुस्कुराऊँदै फर्किएको थियो

