eNepal

कठै बरा लाहुरे

अझै लाहुरेको जागिर आर्कषक पेशा मानिन्छ । अधिकांश लाहुरे भएका र अवकाश पाएकाहरुको दिनचर्या सुखसयलमै बित्छ । सन्तान, परिवार माया र आर्थिक अवस्था राम्रै हुन्छ । तर अजिरकोट गाउँपालिका–२, खरिबोट सिस्नेका पूर्व लाहुरे स्यादुरे तामाङ भने ४० वर्ष देखि ओढारमा बस्छन् ।

६० वर्ष अघि उनी भारतिय सेनामा कार्यरत थिए । अहिले उनी जंगलको कन्दमुल र स्थानीयले दिएको खानेकुरा खाएर पेट पालिरहेका छन् । हंसपुर भच्चेक बजार नजिकै जंगल भित्र ओढारमा भेटिएका उनको शरीरमा कपडा थिएन । बोरा माथि सुतेर आगो तापिरहेका थिए । प्लाष्टिकको भाडामा मोही थियो । अरु खाने कुरा केहि थिएन ।

ओढारमै मान्छे पुगेपछि झसस्ङ झस्केर उठे उनी । जाडोले तामाङको शरीर काँपिरहेको थियो । कम्बल ओढेर चुरोट सल्काए । हातखुट्टा कट्कटिएका थिए । चिसोले दाउरा नबलेर धुवाँ आइरहेको थियो । फूफू गर्दै पुसको ठण्डीमा उनी न्यानोको लागि आगो बाल्न प्रयत्न गर्न थाले ।

मेरो घर नै यहि हो, ४० वर्ष भयो यहाँ बसेको छु,’ बोलाए पछि उनले जवाफ फर्काए ।

हंसपुरदेखि खरिबोट सम्मका २/३ वटा ओढारमा उनी आलोपालो बस्छन् । भोकलागे बस्ती पस्छन् । दिए खान्छन, नदिए माग्ने वा चोरी कहिल्यै गर्दैनन् । घरमा श्रीमती र छोरी भएको उनले सुनाए ।
स्थानीय भिमलाल तामाङले ४० वर्ष अघि नै उनको श्रीमती र छोरीले छाडेर अन्यत्र गएको बताए । ‘लाहुरे जागिर बिचैमा छाडेर स्यादुरे गाउँ फर्के, गाउँमा आएपछि मानसिक रुपमा समस्या देखियो । उपचार पाएनन्, परिवारले वास्ता गरेन,’ उनले भने, ‘एक्लै भएपछि ओढारको बास हुनथाल्यो ।’

मानसिक समस्याको बेलैमा उपचार नपाउँदा उनको परिवार लथालिङको स्थानीयले बताए । अजिरकोट गाउँपालिकाका प्रमुख खरिबोटकै फणिन्द्र धितालले भने, ‘बेलैमा उपचार पाएको भए ठिक हुन्थ्यो होला, तर उनले अहिलेसम्म अस्पताल देखेका छैनन् ।’
६० वर्षदेखि उनी गाउँ छाडेर अयन्त्र गएका छैनन् । स्यादुरेको जन्मथलोमा त्यहाँबाट पनि विकट ठाउँमा पर्छ । भच्चेकमा मान्छे, गाडी र बजार हेर्न आएको उनले बताए । उनलाई ओढारबाट घर फर्काउने प्रयास कसैले गरेनन् ।

उपचार नै नपाएर उनको मानसिक समस्या ठिक नभएको धितालले बताए । ‘चिनेका जति सबैलाई सम्धी भनेर बोलाउँछन, आफ्नै लहडमा ओढार र जंगल डुलेर हिँड्छन्,’ गाउँपालिका प्रमुखले भने । सुरुको भन्दा तामाङको व्यवहारहरु सामान्य बन्दै गएको उनको भनाई छ ।

सुरुका वर्षहरुमा उनी निगालोको चोयाले सामाग्री बुनेर विक्रि गरेपछि ओढारको गुजारा चलाउँथे । अहिले ओढार नजिकै सेनाको ब्यारेक छ । त्यहि ब्यारेकमा खानेकुरा खाएर पूर्व लाहुरे ओढारको जिन्दागी कटाइरहेका छन् ।
त्यसक्षेत्रमा तामाङहरुको बसोबास छ । अधिकांश लाहुरे छन् । लाहुरे नहुनेहरु खेति किसानी गर्छन् । लेकमा भैंसी भेडा पालेर जीवनयापन गर्छन् । यस्तै मध्येको एक परिवार थियो स्यादुरेको पनि । अन्तत: त्यो परिवार उजाडिएको छ अहिले ।

कान्तिपुर बाट

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal