एजेन्सी। जापानमा आगामी जुलाई २३ तारिखदेखि सुरु हुने ओलम्पिकमा भाग लिन गएको युगाण्डाको ओलम्पिक टोलीका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। र उनको पहिचान भने खुलाईएको छैन।
शनिबार टोकियोको नारिता विमानस्थलमा ढिलो पुगेका युगाण्डाका खेलाडी तथा खेल अधिकारीहरूलाई खोप लगाइएको थियो र बोर्डिङ हुनु अघि पीसीआर परीक्षण गरिएको थियो। उक्त टोलीका अन्य आठजना सदस्यहरू भने आइतबार बिहान बसबाट मध्य जापानको आयोजक शहर ओसाकातर्फ प्रस्थान गरेका छन। उक्त कोरोना देखिएका व्यक्ति जापानी सरकारले व्यवस्था गरेको केन्द्रमा निश्चित अवधि सम्म अनिवार्य रुपमा बस्नु पर्नेछ।
कोरोनाको महामारीको बीचमा ओलम्पिक प्रतियोगिता गर्न लागिएकोले यसबाट हुने जोखिमको बारेमा आलोचकहरूले गम्भीर प्रश्न उठाएका छन। तर अन्तर्राष्ट्रिय ओलम्पिक समिति, टोकियोका आयोजकहरू र जापानी सरकारले खेलहरू सुरक्षित रूपमा सम्पन्न हुने कुरामा जोड दिएको छ। त्यसैगरी ओलम्पिकको लागि जापान जाने अतिथिहरुलाई सार्वजनिक स्थलमा अवलोकन गर्न जान भने रोक लगाईएको छ।

