इंग्ल्यान्डका जोस बटलरले एकदिवसीय विश्वकप फाइनलमा लगाएको जर्सी लिलामीमा राखी ६५ हजार पाउन्ड संकलन गरेका छन् । गत वर्ष लड्र्स मैदानमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई धेरै बाउन्ड्री प्रहार गरेको आधारमा हराउँदै पहिलोपटक एकदिवसीय विश्व च्याम्पियनसिप ट्रफी उचालेको थियो । सोही फाइनलमा लगाएको जर्सी बटलरले लिलामीमा राखेका थिए । उनले संकलित रकम कोरोना भाइरसबाट पीडितहरूको उपचारका लागि खर्च गर्ने बताएका छन् ।
लन्डनमै रहेको मुटु र फोक्सोको उपचारमा केन्द्रित ब्रोमटन र हेयरफिल्ड अस्पताललाई कोभिड–१९ का लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका बटलरले रकम उपलब्ध गराउने भएका छन् । मंगलबार जर्सी लिलामीको अन्तिम दिन थियो । बटलरको जर्सी किन्न ८२ जनाले आवेदन दिएका थिए । एक व्यक्तिले सर्वाधिक ६५ हजार एक सय पाउन्ड बोली लगाए ।
२९ वर्षीय विकेटकिपर तथा ब्याट्सम्यान बटलरले गत जुलाईमा न्युजिल्यान्डविरुद्धको विश्वकप फाइनलमा अर्धशतक प्रहार गरेका थिए । उनले सुपर ओभरको अन्तिम बलमा मार्टिन गुप्टिललाई रनआउटसमेत गरेका थिए । गत साता बटलरले सामाजिक सञ्जालमा एक भिडियो सन्देशबाट विश्वकपको जर्सी लिलामीमा राखेको जानकारी दिएका थिए ।
सो जर्सीमा विश्वकप विजेता इंग्लिस टोलीका सबै सदस्यको हस्ताक्षर छ । उनले भिडियो सन्देशमा कोरोना संक्रमणविरुद्ध डाक्टर, नर्स र नेसनल हेल्थ सर्भिसले उल्लेख्य योगदान पुर्याएको र त्यसमा सहयोग गर्ने उद्देश्यले जर्सी लिलामीमा राखेको जनाएका थिए ।

