अभिनेत्री शिल्पा पोखरेलले छविराज ओझाविरुद्ध उजुरी दिएकी छन् । उनले घरेलु हिंसा भएको भन्दै शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकी हुन् ।
बुधबार शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जाकारी दिए ।
‘शान्ति सुरक्षको लागि माग गर्दै अभिनेत्री शिल्पाले उजुरी दिएकी छन् । आज बुधबार छलफलको लागि उनीहरू दुबै जनालाई बोलाएका छौं,’ डिएसपी बोगटीले भने ।
अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ साल दशैंमा विवाह बन्धनमा बाधिएका थिए ।
विवाह गरेको उनीहरु दुवैले विवाहलाई तत्कालै स्वीकार नगरे पनि गत वर्षमात्र उनीहरुले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।
छविले शिल्पालाई ‘लज्जा’ चलचित्रबाट डेब्यु गराएका थिए । शिल्पाले त्यसपछि छविको ब्यानरमा निर्माण भएको ‘मंगलम’ तथा ‘हवल्दार सुन्तली’ मा अभिनय गरेकी थिइन् ।
शिल्पा चल्तिकी नायिका भए पनि चलत्रिमा भन्दा बढी म्युजिक भिडियोमा सक्रिय छिन् ।

