काठमाडौँ,जेठ-१०। जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडी नजिकै विकसित हुन लागेको चक्रवाताको नेपालमा पनि प्रभाव पर्ने देखिएको छ।
‘यास’ नाम दिइएको चक्रवात अहिले विकसित हुने क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन। जल तथा मौसम विज्ञान विभागले जारि गरेको विशेष बुलेटिनका अनुसार बंगालको खाडीमा विकसित भइरहेको चक्रवाताको प्रभाव नेपालमा पनि पर्ने देखिएको भन्दै आम नागरिकलाई सजग रहन मौसमविद्ले आग्रह गरेका छन्।
भारतमा भने यसको असर धेरैनै पर्ने भएकाले क्षति कम गर्न तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएका छन्।
नेपालमा पनि त्यसको केही असर पर्ने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरेको हो। यो चक्रवात एक सय ८५ किलोमिटर प्रतिघण्टाका दरले आउने जनाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यसको असर भारतको पश्चिम बंगाल र उडिसा क्षेत्रमा पर्ने छन्।
त्यस्तै विभागले जनाए अनुसार यस चक्रवातका कारण नेपालमा पनि मंगलबारदेखि वर्षा हुनसक्ने र यसको प्रभाव पूर्वि नेपालमा पर्ने विभागले अनुमान गरेको छ।

