eNepal

अब अस्ट्रेलीयामा पिआर पाउन त्यति सजिलो छैन

एक्कासी एउटा भाईले फोन गर्यो र सोध्यो दाई अस्ट्रलीयामा पिआर पाईन्छ कि पाईदैन।मैले भने त्यो त कन्सल्च्यान्सीलाई पो गएर सोध्ने हो।न त म कुनै माईग्रेसन एजेन्ट हो न त मैले कुनै कन्सल्ट्यान्सी खोलेको छु।एक्कासी भाईको प्रस्नले अक्क न बक्क भए।भाईले सिधै भन्यो तपाई यत्तिका बर्ष भयो अस्ट्रेलीया बस्नु भएको।तपाईको अनुभव मात्र जान्न खोजेको दाई।केही राय सल्लाह छन् भने दिनु होला।

भाई म २००९ मा आउँदा डिप्लोमा अफ कमर्सियल कुकरीमा आएको थिए।म आएको कलेज मेल्बोर्नको स्वान्सटन स्ट्रीटमा थियो।मैले सोचेको थिएँ ठुलो युनिभर्सीटी होला।पढाई पनि बेजोड होला। खासमा भन्नु पर्दा मलाई पढाई सकेर कसरी हुन्छ पिआर हात पार्नु थियो।पढाई त मात्र बहाना थियो।आखिरी ९०प्रतीसत बिधार्थीको मुख्य आसय भनेको पिआरनै हुन्छ।

नेपालबाट आएको दुई दिन पछि वरियन्टेसन थियो।कलेज जान भनेर कोट पाईन्ट र नेपालबाट ल्याएको पाटी सुज टलक्क पारेर लगाए।त्यो बेला कोनेक्स थियो पछि मेट्रो भयो। कोनेक्स ट्रेनमा चडे। बसाई थियो ग्लेन रोय।फिलीन्डर स्ट्रीटबाट केही मिनेटको हिडाईमा कलेज पुगीयो।लाग्यो कि कुनै भारत तिरको कलेजमा छिर्दैछु।सबै भारतीय फाट्टफुट्ट चाईनिजहरु देखी बाहेक।पढाई शुरु भयो तर पढाउने मास्टरहरु ब्रिटीस थिए।एकदम कढा।केही मिनेट ढिला गयो भने पनि हाँजीरी नगर्दिने सार्है टिमुर्केका।खाजा खानलाई क्यान्टिनमा गयो। एउटा माईक्रो ओभन।कुर्ने मान्छेको ताँती।लाग्थ्यो बागबजारको देशीको पसल जस्तो।खानाको त्यस्तै बास्ना आउने अनि कपालमा लगाएको नरिवल तेल।कलेज फि तिर्नलाई आफुलाई गार्हो थियो।

काम नपाउने छुट्टै पिडा।फि तिरेन भने ईमिग्रेसनलाई भन्दिन्छु भनेर डर देखाउँथे।नेपालमा कनसल्ट्यान्सीलाई फोन गरेर सोध्दा फि त जसरि नी तिर्न पर्छ भन्थे।पछि थाहा भयो किन फि तिर भनेका रहेछन् भनेर। कमिसन आउँदो रहेछ।तर म मात्र थिईन त्यो पिडाबाट ग्रस्त।मजस्ता धेरै साथीहरु सबैको पिडा एउटै थियो।सबैले सल्लाह गरेर छ महिना पछि अर्को कलेजमा गएर भर्ना गरियो।त्यो चाँही हाम्रै छिमेकी रास्ट्रको थियो।महिनाको पाँच सय बुझाउन पर्ने अनि जहिले गएर भए पनि असाईन्मेन्ट गर्न पाईने।पढेर पास हुने पढाई थिएन।मात्र पाँच सय र असाईन्मेन्ट बुजाए पास त के भनौ सि यानीकि कम्पिटेन्ट भनेर आउँथ्यो।यसरि पाँच सय तिरेर दिन रात नभनी काम गरिन्थ्यो।
दुई बर्षको भिषा सकिने क्रममा थियो।त्यो बेला हामीले पढेको बिषयबाट सोझै पिआर हाल्न पाउँथ्यो तर म अनि मजस्ता धेरै पिडीत साथीहरुको सपना त्यहि बेला तुहियो जति बेला हामीले पढेको बिषय एसवएल लिस्टबाट हटाईयो।एसवएल(SOL) भनेको पनि थाहा थिएन त्यो बेला तर पछि बुझ्दै गर्दा स्किल्ड पेसामा सरकारले दिने स्थाई बसोबासको अनुमती पत्र रहेछ।

कति कुरा त कन्सल्ट्यान्सीले पनि भनेनन् अनि आफुले त्यति चासो पनि दिईएन।आफुलाई कसरी हुन्छ भिषा थपेर काम गर्ने अनि पैसा कमाउने भुत मात्र थियो।हुन त त्यो बेला पनि अलिक टाठा बाठाहरुले कताबाट पिआर पाईन्छ भनेर बुजे।जसले किचनमा नै काम गरिरहेका थिए।ति साथीहरुले काम गरेको घण्टा देखाएर अनि आईएलटिएसमा प्रत्यकमा ६ ल्याएर पनि पिआर हाले। कोहीको सफल भयो अनि कोही को असफल।मलाई भने कुन बिषयमा धेरै भिषा थप्न पाईन्छ त्यता तिर ध्यान भयो। फेरी गईयो कन्सल्टयान्सी।बढो मिठो शैलीमा ल भाई आईटी पढ।ठ्याक्कै तिन बर्षको भिषा हुन्छ।सट्रीफिकेट ३ र ४ अनि डिप्लोमा र एड्भान्स डिप्लोमा कुल गरेर तिन बर्ष।मलाई पनि के खोज्छस् कानो आँखो जस्तै भयो। फेरी भिषा थपियो।ड्याम्म तिन बर्षको।

आफुलाई चासोको बिषय थिएन आईटी र पनि करले दुई हप्तामा कलेज गईन्थ्यो।असाईन्मेन्ट गरीन्थ्यो अनि आईन्थ्यो।यसरीनै अस्ट्रेलीयामा समय गएको पत्तै पाईदैन थियो।किनकी आँखा मिचेर काममा गएर साँझ घर आएर एकछाक भात खाएर सुत्दा दिन हप्ता महिना बितेको पत्तै पाईएन।घरको भाडा तिर्ने बेलामा मात्र झसङ्ग भएर ए एक महिना पो बिते छ भनेर थाहा पाईन्थ्यो
एकदिन अकस्मात् समयलाई पछ्याउँदै हिड्ने क्रममा एक जना दाईले भाई तिम्रो पिआर भयो भनेर सोधे।मैले छैन दाई कहाँ हुनु।अनि के हेरेर बसेको त।खुरुक्क पहिला पिआर लेउ ।यस्ता काम र पैसा त पछि पनि कमाई हालीन्छ नि भनेर झक्झकाएँ। अनि सोचे ए है अव त पिआर लिनु पर्छ तर मैले पढेको बिषय यानिकी डिप्लोमा गरेर त पिआर हुँदैन।फेरी नत मैले त्यहि फिल्डमा काम गरेको छु।कनि कुथी वर्ड र एक्सेल अनि पावरपोईन्टको केही जो ज्ञान थियो।

अव व्याच्लर वा मास्टर्स गर्नु पर्छ भन्ने सोचका साथ आईटीलाई बिचैमा पुर्णबिराम लगाउँदै एकाउन्टीङ् पढियो।त्यसपछि चार सेमेस्टरमा नियमीत रुपमा सोर्ह महिना लगाएर पढाई सकियो।खुसीको कुरो फेल भईएन।पढाई सकेर पनि कहाँ भयो र।आईएलटिएसमा ७ ल्याउन पर्ने थियो।पिआर हात पार्न।खासमा ६० पोईन्ट्स चाहिन्थ्यो।उमेर २५ बर्ष नाघेर ३२ नकटेको भएर सोझै तिस पोईन्ट्स पाईयो।अस्ट्रेलीयामा व्याच्लर वा मास्टर्स जे गरे पनि १५ पोईन्टस पाईन्थ्यो र थप ५ पोईन्ट्स अस्ट्रलीयामा दुई बर्ष पढे बापत पाईन्थ्यो।आफु सँग जम्मा पचास पोईन्ट थियो।अझ १० पोईन्ट ल्याउनलाई आईएलटिएसमा प्रत्येक मोडुलमा सात ल्याउन पर्ने हुन्थ्यो।कहिले एउटामा नआउने कहिले अर्कोमा हरेक चोटी ३३० डलर तिर्दा पनि हैरान भईसकेको थिएँ।

त्यस पछि १८ महिनाको अस्थाई भिषा टिआर हालीयो जसले अठार महिना सम्म काम गर्न र बस्न अनुमती दिन्थ्यो।त्यहि समयमा प्रोफेसनल बर्षपनि भर्ना गरियो।यस गरेबापत थप पाँच पोईन्ट आउँछ र ७ ल्याउन नसकेको खण्डमा प्रोफेसनल बर्ष गरे बापत एकाउन्टीङ बडिजहरु जो छन् अस्ट्रेलीयामा सिपीए, आईपिए आदी।यिनीहरुले हामीले पढेको बिषयलाई मान्यता दिन्छन् ताकि कुनै पढाईसँग जोडीएका काम पाईएको खण्डमा उपयुक्त हुन्छ र पिआरको लागि बाटो पनि खुल्छ।

साँच्चै भन्नु पर्दा म जस्ता धेरैलाई पिआर दिलाउन आईएलटिएस जस्तै अङ्गेजी परिक्षा पिटीई एकेडेमीकले धेरै भुमीका खेल्यो भन्दा म गलत हुँदीन होला।आईएलटीएस भन्दा केही फरक र अलिक सजिलो मेरो बिचारमा पिटीईमा स्कोर ल्याउन बढि सजिलो लाग्यो।सबै चार मोडुलहरु कम्प्युटरमानै दिन पर्ने भएकोले मलाई सजिलो लागेको हो या आफुमा कन्फिडीयन्ट भएकोले हो।मैले यसमानै जोड दिए।अन्तत: लामो प्रतीक्षा पछि अस्ट्रेलीया ईस्थाई बसोबास पाएँ।

गत साल देखी त पिआर पाउन एथकदमै गार्हो बनाएको छ अस्ट्रेलीयन सरकारले।बिशेष गरेर एकाउन्टीङ र आईटीमा पढ्न आउनेहरुले ठुलै मेहीनत गर्नुपर्ने छ।यी बिषयबाट पिआर हात पार्न तपाईले कम्तीमा पनि ७० पोईन्टस पुर्याउनुपर्छ।कित तपाईसँग विशीष्ट प्रकारको अङ्ग्रेजी लेभल हुन पर्यो जसले गर्दा तपाईले प्रत्येक मोडुलमा ८ व्यान्ड ल्याउन सक्नुपर्यो।कित प्रोफेसनल बर्ष को अलावा नाटीको परिक्षा दिन पर्यो।नाटी (NAATI)एक किसीमको परिक्षा हो जहाँ तपाईले अङ्ग्रजी र नेपाली दुवैमा, दिईएको बिषयमा अनुबाद गर्नु पर्ने हुन्छ।यसको परिक्षा सधै भरि जसो हुँदैन।यसको लागि रकम लगभग एघार सय डलर लाग्छ।यसको नतीजा आउन कम्तीमा १२-१४ हप्ता लाग्छ।फेरी यसमा पास हुन पनि त्यति सजिलो छैन।बडो टुप्पी कसेरै मेहीनेत गर्न पर्ने हुन्छ। आजकाल केही कन्सल्ट्यान्सीहरुले यसको कक्षा सन्चालनमा ल्याउन थालेका छन् जसबाट धेरै बिधार्थीहरुले राहत पाएका छन्।

प्रोफेसनल बर्ष गर्नको लागि अस्थाई भिषामा बस्नु पर्ने हुन्छ।त्यसको लागि आफ्नो पढाई सकिएपछि दर्खास्त दिन पर्ने हुन्छ।२०१२ भन्दा अघि आउनेको हकमा १८ महिने अस्थाई अनुमती पाईन्छ भने त्यस पछि आउनेहरुको हकमा २४ महिनाको पोस्ट स्टडी वर्क राईट्स  (PSW) पाईन्छ यो समयमा सबैले पुरा समय काम गर्न पाउँछन्।अझ मिल्छ भने आफुले पढेको बिषयमा अनुभब लिन पनि सकिन्छ।यदि आफु पढेको बिषयमा एक बर्षको अनुभव देखाउन सकियो भने थप पाँच पोईन्ट्स आउँछ। कोहीले नेपालमा आफ्नो बिषयको काम गरेको छ त्यो पनि तिन बर्ष भन्दा माथी सरकारलाई कर बुझाएर अनि एउटा चिट्ठी ल्याउन सक्यो भने थप पोईनट्स पाईन्छ। तर त्यसको लागि अस्ट्रेलीयामा रहेका बिभीन्न बिषयका लागि आधिकारीक समितीहरु सँग समन्वय राख्नु पर्ने हुन्छ।मेरा केही साथीहरुले नेपालमा बैङ्किङ अनुभबका आधारमा पोईन्ट्स पाएर पिआर हात पारेका उदाहरणहरु पनि छन्।

हामी प्रायसँग पढाई सकिदा ५० पोईट्स हुन्छ।त्यस पछि अाईएलटिएसमा राम्रो गर्न सक्यो भने ग्रेडीङ अनुसार १० देखी २० पोईन्ट्स बढ्न सक्छ।त्यस पछि प्रोफेसनल बर्ष गरेमा पाँच पोईन्ट्स र नाटीमा पास भएमा पाँच पोईन्ट्स आउँछ।अनुभबको आधारमा आउने पोईन्ट्स छुट्टै छ।अर्को कुरा तपाईको डिपेन्डेन्टको पनि पढाई स्किल्ड पेसामा छ भने त्यसबाट अतिरीक्त पाँच पोईन्ट्स आउँछ।जस्तै तपाई एकाउन्टीङको बिधार्थी हो र तपाईको डिपेन्डेन्टले पनि एकाउन्टिङमा स्नाकोत्तर वा शो सरह गर्नु भएको छ भने त्यसलाई अस्ट्रेलीयामा रहेको सिपीए,आईपिएबाट प्रमाणीत गर्नु भयो भने थप पाँच पोईन्ट्स आउँछ।

आफु आउनु भन्दा अगाडी आफैले ईन्टरनेटको जमानामा बृस्तीत रुपमा बुझ्दा हुन्छ। कुन बिषयलाई पिआरको लिस्टमा राखेको छ,बर्षमा कति जनाले त्यो बिषयबाट पिआर हात पारेछन्। कतिवटा कोटा छुट्याईएको छ आफु आउने बिषयलाई।कति पोई्न्ट्स भएकाले पिआर पाएछन्।कुन राज्यमा जाँदा पिआर पाईने सम्भव्यता बढि हुन्छ।कुन राज्यमा कम।यी यावद कुराहरु मज्जाले आफैले हेर्न पनि सकिन्छ।अस्ट्रलीयन सरकारको वेभसाईटमा राम्ररी बुझिने गरि राखिएको हुन्छ।कन्सल्ट्यान्सीको कुरा सुनेर आफुले पनि खोज र अनुसन्धान गर्दा भोली हुने झमेलाबाट केही हद सम्म साबधानी अप्नाउन सकिन्छ।

अब आउने नयाँ बिधार्थीहरुलाई त्यति सजिलो चाँही पक्कै छैन पिआर लिनलाई।तर एउटा सवल पक्ष के भने अङ्ग्रजी लेवल एकदम राम्रो छ भने त्यति झमेला नहोला अन्यथा पिना निस्किन्जेल मेहीनेत गर्न पर्छ।मुख्य कुरा अस्ट्रेलीयाको हरेक परिबर्तीत नियमले पनि प्रभाव पार्छ।जे होस भए लिन्छु पिआर नभए अस्ट्रेलीयन डिग्री लिन्छु अनि फर्किन्छु भन्ने खालको मनिस्थीति बनाएर आउँदा राम्रो हुन्छ।नेपालमा कन्सल्ट्यान्सीले भने दस्तो गोजीबाट निकालेर दिने  जस्तो सजिलो चाँही पक्कै छैन अब आउने नयाँ पिडीकोलागि पिआर यानिकी अस्ट्रेलीयाको ईस्थाई बसोबासको अनुमती पत्र।
(नोटः यो लेख मैले मेरो सात बर्षको अनुभवको आधारमा लेखेको हो।बस्तीत जानकारी लिनलाई साँचो र यथार्थ परक सुचना समप्रेषण गर्ने कन्सल्ट्यान्सी वा माईग्रेसन सम्बन्धी ज्ञान भएका व्यक्तिहरुलाई सम्पर्क गर्नु सक्नु हुनेछ)

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal