eNepal

कबिता: साँघुरो गल्लीको बिचमा

साँघुरो गल्लीको बिचमा
मेरो एउटा घर छ
हराउँछु कि म कतै यहि
साँघुरो पन भित्र मलाई मात्र
यहि एउटा डर छ

म बोल्छु शब्द हरु
छ्यत बिछ्यत हुन्छन् टकराएर
एक अर्कासँग
काटिइन्छन शब्दका बाँडहरुले
टुक्रिइन्छन कुनै मूर्त रूप
लिनु अघि नै
छताछुल्ल हुन्छन्
हतार मा छन् सबै
मेरो कुरा सुनिदिन म जस्तै
ठिङरिङ्ग उभिएका जिर्ण
एउटा पिपल अनि
एउटा वर छ
जिर्ण हुन्छु कि
म यहि वर पिपल जस्तै
मलाई यहि एउटा डर छ

घरै घर छन टाढा टाढा
दृष्टिले भ्याएसम्म
घरले थिचिएका घर छन्
घर माथि उभिएका घर छन्
अनि ति घरमा बस्ने
घर जस्तै मनस्थिति भएका
मानिसहरु छन्
निसास्सीन्छु म
घरहरु अनि घरजस्ता
मानिसहरूको बीचमा
महसूस हुन्छ मानौं एउटा
निर्जिब जिबंत संसार छ
सुनाउन आफ्नो कुरा
यो आठ प्रहर छ
हराउँछु कि म यहि प्रहर भित्र
मलाई यहि एउटा डर छ

अटाएका छन जाताततै
अस्तित्व बिहीन मान्छेहरु
यहि साँघुरो गल्लीभित्र
अटाएका छन्
कोचिएका मनस्थितिहरु
संपूर्ण संकिर्णता
उन्मुक्तताको खोजिमा
देख्दिन साहस कसैमा
भत्काएर स्वास लिने
उन्मुक्त आकासको
जीवन धान्न सदा
यहि चर्किएको ढुङ्गा
र माटोको भर छ
चर्किंछु की म कतै
यहि ढुङ्गा र माटो जस्तै
मलाई यही एउटा डर छ।

हिंडेका छन् गंतब्य
बिहीन पाइलाहरु
कुल्चीदै एक अर्काका सपनाहरु
ईच्छा अनि आकांछाहरु
नउम्रिदै माडिईएका
नबिन बिज हरु
एकोहोरो बाटोमा चलेका छन्
संघर्षका दोहोरीहरु
मेरो आर्त भित्र कता कता
यहि संघर्षबीच सुन्दर फूल
फूलेको हेर्ने रहर छ।
भत्किन्छु कि म एतै कतै
यहि संघर्ष सँगै
मलाई यही एउटा डर छ
साँघुरो गल्लीमा मेरो
एउटा घर छ
हराउँछु कि म यतै कतै
मलाई यही एउटा डर छ।

गीता तिमील्सिना

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal