काठमाडौं – धुलिखेल अस्पतालमा बिहीबार राति मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं मा गरिएको परिक्षणमा मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै नेपालमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु भएको हो । कोरोनाको संक्रमणबाट मृत्यु भएकी २९ वर्षीया महिला सिन्धुपाल्चोक बाह्रबिसेकी हुन् । उनी १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् ।
अस्पतालबाट डिस्चार्ज भएपछि घर पुगेकी उनलाई स्वास्थ्यमा समस्या आएपछि फेरि धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् ।उनको धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षण पनि पोजेटिभ आएको थियो ।
हिजो, २ जेठमा मात्रै भारतले संक्रमितको संख्यामा चीनलाई उछिनेको थियो। नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो मृत्यु पुष्टि भएपछि अब दक्षिण एशियाली क्षेत्रमा ज्यान नगुमाएका देशको सूचिमा भुटान मात्रै रहेको छ।
बाँकी सातवटै देशमा कोरोना भाइरसले ज्यान लिइसकेको छ। यद्यपी, ज्यान गुमाएकाको संख्या भने सबैभन्दा थोरै नेपालमै छ- १ जना।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पुष्टि गरेअनुसार सिल्धुपाल्चोककी ती महिलाले २४ वैशाखमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शिशुलाई जन्म दिएकी थिइन्।
त्यहाँबाट डिस्चार्ज भएर घर गएकी उनलाई कोरोनाको लक्षण देखिएपछि काभ्रेको धुलिखेलस्थित् अस्पतालमा ल्याइँदै गर्दा मृत्यु भएको थियो। मृत्यु भएपछि गरिएको परीक्षणमा उनी कोभिड- १९ बाट संक्रमित भएकी र त्यसैको कारण उनको ज्यान गएको पुष्टि भएको छ।
उनमा संक्रमण पुष्टि भएसँगै सिन्धुपाल्चोक जिल्ला पनि कोरोना भाइरस संक्रमितको जिल्लाको सूचीमा थपिएको छ। यससँगै कर्णाली बाहेकका ६ प्रदेशका २८ जिल्लामा कोरोना संक्रमण भइसकेको छ।
भारतसँग सीमा जोडिएका तराईका मोरङ र सुनसरीबाहेकका सबै जिल्लामा संक्रमित देखिएका छन्। प्रदेश २ का सबै जिल्लामा संक्रमित देखिएका छन्।
स्वास्थ्य मन्त्रालयको आज साँझको तथ्यांक अनुसार संक्रमितको संख्या २८१ पुगेको छ र यो संख्या हरेक दिन बढ्दो छ। ९ माघमा पहिलो संक्रमित देखिएको ठ्याक्कै दुई महीनापछि ९ चैतमा दोस्रो संक्रमित देखिएको र चैत महीनाभरमा उक्त संख्या ११ मात्र पुगेको थियो।
तर, वैशाख लागेपछि भने उक्त संख्या उकालो लागेको लाग्यै भयो। ३० वैशाखसम्म २१७ जनालाई देखिएकोमा त्यसपछिका चारमा दिनमा थपिएर २८१ पुगिसकेका छन्।
अहिलेसम्म संक्रमण देखिएका कुनै पनि बिरामीमा गम्भीर लक्षण नदेखिएको, ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज नै भइसकेको र उपचाररत बिरामीको स्वास्थ्य पनि सामान्य रहेको हुँदा नेपालमा यसलाई गम्भीर रूपमा लिइएको थिएन।
कोरोना संक्रमणबाट पहिलो व्यक्तिको, त्यो पनि अस्पताल पुर्याउँदा नपुर्याउँदै ज्यान गएकाले महामारी साँच्चिकै भयावह बन्न सक्ने देखिन्छ।
रासस


