यि फोटोमा देखिएका व्यक्ति सायद नचिन्ने कमै होलान्। यिनका केही भिडीयो सामाजिक संजालमा भाईरल भए।
जुम्ला घर भई पोखरा १७ पावर हाउसमा बस्ने पास्टर केशवराज आचार्यलाई चैत १० गते राति कास्की प्रहरीले पक्राउ गरेको छ।
आचार्यमाथि छानबिन गरेर चैत २७ गते ‘अफवाह फैलाएको’ आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीमा मुद्दा दर्ता गरिएको थियो।
२७ गते नै ५ हजार धरौटीमा रिहा भएका आचार्यलाई प्रहरीले ‘धर्म परिवर्तन’ सम्बन्धमा जिल्ला अदालत कास्कीमा वैशाख ४ गते मुद्दा दायर गरेको थियो। अदालतले वैशाख ७ गते ५ लाख धरौटीमा रिहा गरे पनि उनले धरौटी नबुझाएपछि पुर्पक्षका लागि जेल चलान गरेको थियो।
अदालतले तोकेको धरौटी तिरेपछि अचार्य बुधबार कास्की कारागारबाट रिहा भए पनि प्रहरी हिरासतबाट भने मुक्त भएका छैनन्। कास्कीमा मुद्दा अनुसन्धानकै क्रममा अफवाह र धर्म परिवर्तनसम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय डोल्पामा पनि परेको थियो।
डोल्पा प्रहरीले अनुसन्धानका लागि ‘त्यहाँबाट छुट्ने भए यहाँ पठाउनु’ भन्ने पत्रका आधारमा बुधबार नै उनलाई डोल्पा पठाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नरहरि अधिकारीले बताए।
‘हामीले जिल्ला-जिल्ला ट्रान्सफर गर्दै आचार्यलाई डोल्पा पठाएका छौं,’ उनले भने, ‘दुई-तीन दिनमा डोल्पा पुग्लान्।’
इन्स्पेक्टर अधिकारीका अनुसार आचार्यलाई बुधबार नै स्याङ्जा प्रहरीको जिम्मा लगाएको छ भने स्याङ्जाबाट पाल्पा हुँदै प्रहरीले डोल्पा पुर्याउनेछ।आचार्यले बयानका क्रममा के भने भन्नेबारे प्रहरीले खुलाउन चाहेन।
‘मुद्दा अदालतमा विचाराधीन छ,’ कास्की प्रहरी प्रवक्ता समेत रहेका इन्सपेक्टर अधिकारीले भने, ‘हामीले उहाँको आस्थाको पनि सम्मान गर्नुपर्छ, अहिले सार्वजनिक गर्न मिल्दैन।’
साभारः सेतो पाटी

