eNepal

बाबा’ बनाएर क्यानडा पठाउने धन्दा

स्वामी शिवानन्द बाबा भनिने दीपक भण्डारीले धादिङका सुमन गुरुङ र रुकुमका रामकुमार डाँगीलाई उपलब्ध गराएको क्यानडाको नक्कली भिसा।

काठमाडौं – आफूलाई स्वामी शिवानन्द बाबा बताउने हुंगा–१, गुल्मीका दीपक भण्डारीलाई भेटेपछि रुकुम, मुरुका रामकुमार डाँगी र धादिङ, निलकण्ठ–११ का सुमन गुरुङलाई दुःखका दिन सकिए जस्तो लागेको थियो।

भण्डारीले आफू पटकपटक धार्मिक लगायत विभिन्न सामाजिक कार्यक्रममा क्यानडा जाने गरेको र यसपटक डाँगी र गुरुङलाई लैजान सक्ने आश्वासन दिएका थिए। वैदेशिक रोजगारीमा जान खोजेका उनीहरुलाई त्यो आश्वासन आकर्षक लाग्यो।

आफ्नै प्रयासले राम्रा गन्तव्य मुलुक जान नसकेका बेला भण्डारीले सहजै क्यानडा पठाउने बताएपछि दुई युवा आवश्यक खर्च जुटाउन तयार भए। ‘पटकपटक क्यानडा जाने गरेको र थुप्रैलाई उडाइसकेको बताएपछि हामीले पत्यायौं,’ बुधबार भण्डारीविरुद्ध उजुरी गर्न वैदेशिक रोजगार विभाग पुगेका गुरुङले भने, ‘६ महिनाअघि भेट्दा बाबाले क्यानडा जानुअघि पैसासमेत तिर्न नपर्ने बताएका थिए।’

सुरुमा क्यानडा पुगेपछि मात्र रकम तिरे हुने बताएका भण्डारीले असोज १ गते ती दुई युवासँग ‘अर्जेन्ट’ काम परेको भन्दै साढे १० लाख रुपैयाँ मागे। ‘क्यानडा पुगेपछि प्रतिव्यक्ति २४ लाख रुपैयाँ बुझाउने सहमति थियो,’ गुरुङले भने, ‘जानुअघि दुवैजनाबाट साढे १० लाख रुपैयाँ मागे पनि ठग्लान् भन्ने सोच्न सकेनौं।’

रुकुम र धादिङका दुई युवालाई ‘बाबा’ले क्यानडाको नक्कली भिसा बनाइदिएर त्रिभुवन विमानस्थलबाटै उडाउन खोजेका थिए।

राजनीतिक दलका नेता, कलाकार, प्रहरी–प्रशासनका व्यक्तिसँग राम्रो चिनजान रहेको बताउने भण्डारीले फेसबुकमा पनि पहुँचवालासँग सम्बन्ध देखिने खालका तस्बिर राखेका छन्। ‘आ–आफ्नो क्षेत्रका माथिल्लो तहका व्यक्तिसँग राम्रो सम्बन्ध देखिएपछि उनले ठगी नै गर्लान् भन्ने सोच्न सकेनौं,’ अर्का युवा डाँगीले भने, ‘अहिले सोही विश्वासका कारण घर न घाटको भइएको  छ।’

साढे १० लाख रुपैयाँ लिइसकेपछि भण्डारीले उनीहरुलाई क्यानडा पठाउने भन्दै कात्तिक ७ गते थाइल्यान्ड उडाउन खोजे। भण्डारीले थाइल्यान्डबाट दुबई र त्यहाँबाट क्यानडा उडाउने बताएका थिए। उनीहरुलाई त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले उड्न नदिएपछि भण्डारीको धन्दा सार्वजनिक भएको हो।

विमानस्थलबाट फर्केपछि उनीहरूले पटकपटक रकम फिर्ता मागे पनि भण्डारीले टेरेनन्। ‘बल्लतल्ल पाँच–पाँच लाखको चेक लियौं,’ गुरुङले भने, ‘तर खातामा पुग्ने रकम नभएपछि मुक्तिनाथ विकास बैंकले चेक बाउन्स गरिदियो।’

डाँगीका अनुसार भण्डारीले १० लाख रुपैयाँ बैंक चेकमार्फत र ५० हजार रुपैयाँ नगद लिएका थिए। चेक र रकम लिन भण्डारी गोंगबु बसपार्कमा पुगेका थिए। उक्त रकम फिर्ता लिन पटकपटक सम्पर्क गर्न खोजे पनि भण्डारी सम्पर्कमा नआएपछि उजुरी दिन विभाग आएको उनीहरूको भनाइ छ।

गुरुङ र डाँगीका अनुसार क्यानडाको लोभ देखाएर भण्डारीले अन्य बेरोजगारलाई पनि ठगेका छन्। ‘ठुल्ठूला गफ र प्रहरी तथा प्रशासनका उच्च अधिकारीसँगको सम्बन्ध देखाएर ठगी गर्न उनलाई सहज भइरहेको छ,’ उनीहरुले भने।

भण्डारीले ती युवालाई क्यानडा पठाउने भन्दै नक्कली भिसा समेत उपलब्ध गराएका छन्। पछिल्लो समय ‘बाबा’ले फोन पनि उठाउन छाडेका छन्। नागरिक दैनिकको कार्यालयबाट भण्डारीको मोबाइलमा पटकपटक सम्पर्क गर्न खोज्दा पनि ‘रिसिभ’ भएन। मोबाइल नउठेपछि म्यासेज गर्दासमेत भण्डारीले जवाफ फर्काएनन्।

Source: Nagarik news

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal