eNepal

टाईसुटकै धज्जी-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व सम्मेलन

नेपालीमा एउटा भनाइ छ– पढ्यो पढ्यो पाठ १६ दुना आठ ! जति सिकाइ र ज्ञान हासिल भए पनि दिमागले सही कुरा ग्रहण गर्न नसकी उही गलत पक्षलाई नै अँगालिरहने सन्दर्भमा यो भनाइको प्रयोग गरिन्छ ।

 गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व सम्मेलन काठमाडौँमा चलिरहँदा एनआरएनका हर्ताकर्ता र प्रतिनिधि (डेलिगेट्स)को कार्यशैली पनि यही ‘पढ्यो पढ्यो पाठ १६ दुना आठ’ भनेजस्तै भएको छ । लामो समय विदेशी भूमिमा रहेर त्यहाँको संस्कार, संस्कृति र सिस्टमलाई अँगाल्दै आएका उनीहरूले विश्व सम्मेलनको क्रममा जे जस्तो हर्कत र व्यवहार प्रस्तुत गरे त्यसले एनआरएन विश्व सम्मेलनलाई नै विवादित बनाएको छ र सङ्गठनमाथि नै प्रश्न खडा भएको छ ।

बुधबार साँझ एनआरएनहरू कुर्सी तोडफोडको हदसम्म उत्रिन पुगे । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सम्मेलनको औपचारिक रूपमा उद्घाटन गर्नुअघि नै विवादमा तानिएको विश्व सम्मेलन एनआरएनहरू नै तोडफोडमा उत्रिएपछि थप विवादित बनेको हो ।

राजनीतिक पार्टीको आशीर्वादमा कुल आचार्य र कुमार पन्त प्यानल बनाएर चुनाव लडेको र मतदान प्रक्रियामा ढिलाइ गरेर धाँधली गर्न खोजेको आरोप लगाउँदै आक्रोशित एनआरएनएले होटल परिसरमा राखिएका कुर्सी तोडफोड गरेका हुन् । उनीहरू होहल्ला र नाराबाजीसँगै तोडफोडमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

तोडफोडपछि कडा सुरक्षाका बीच मतदान सुरु भए पनि एक जनाले मत खसाल्ने वित्तिकै भोटिङ मेसिनमा गडबडी आएको कारण देखाउँदै मतदान स्थगित गरियो । स्थगित भएको मतदान बिहीबार बिहान साढे ११ बजेदेखि सुरु भएको निर्वाचन आयुक्त शिवप्रसाद रिजालले जानकारी दिए ।

 

भोट नहाली फर्किन थाले मतदाता

एनआरएन निर्वाचनमा अनावश्यक राजनीति र विवाद सिर्जना भएको भन्दै डेलिगेट्सहरू रुष्ट भएका छन् । केही रुष्ट डेलिगेट्सले बिहीबारको मतदान बहिष्कार गर्नुका साथै मत नै नखसाली कार्यक्षेत्रमा फर्किन थालेको एक एनआरएन नेताले रातोपाटीलाई बताए । उनका अनुसार एनआरएनको विश्व सम्मेलनको व्यवस्थापन निकै फितलो भएको तथा संस्थाकै उद्देश्यविपरीत राजनीतिक दलको चुनाव जस्तो हुन थालेपछि मतदातामा रुष्ट बनेका हुन् ।

हुन पनि एनआरएनएको सम्मेलनस्थल होटल हायात दुई फरक राजनीतिक दलको चुनावी मैदान जस्तो बनेको छ । प्रतिनिधिहरू काँग्रेस र नेकपामा कित्ताकाट हुँदै सोही अनुरूपको प्रचारप्रसार गर्न तल्लीन देखिन्छन् ।

सम्मेलन स्थलमा नाराबाजी र गालीगलोज सामान्यजस्तै भएका छन् भने एकले अर्कालाई कसरी सिध्याउने भनेर रणनीति बनाउन खेमामा बाँडिएका एनआरएनहरू तल्लीन देखिन्छन् ।

पहिरन टाईसुट, हर्कत चाहिँ असभ्य

सम्मेलन स्थलमा सहभागी एनआरएन सबै टाईसुटमा ठाँटिएर निकै सभ्य देखिन्छन् । तर उनीहरूको कार्यशैली, प्रस्तुति र संस्कार भने असभ्य देखिएको कतिपयको टिप्पणी छ । एनआरएनले नेपालमा आएर गरेका असभ्य हर्कतप्रति स्वयम् गैरआवासीय नेपालीले समेत असन्तुष्टि जनाएका छन् ।

बेल्जियम निवासी गैरआवासीय नेपाली ओम शर्माले ह्यायातमा ‘लाहुरेहरूले तोरी लाहुरे’ पारा देखाएको भन्दै कटाक्ष गरेका छन् । एनआरएनको नाममा एनआरएनका नेताहरूले फाइदा लिनुबाहेक अरू केही हुन नसकेको नसकेको भन्दै नेपालीकै बल बुँदामा कछुवाकै गतिमा भए पनि नेपाल विकसित हुँदै गएको टिप्पणी गरेका छन् ।

‘कछुवाकै गतिमा भए पनि नेपाल विकसित हुँदैछ । हाराहारी दुई दशकअघि तिमीहरूले देश छोडेपछि बागमतीमा धेरै पानी बगिसकेको छ’, उनले लेखेका छन्, ‘विश्वव्यापीकरण र नयाँ प्रविधिको माहोलमा हुर्किरहेको आधुनिक चेत बोकेको नयाँ पुस्ता हाम्रो भाडा माझ्ने सोच भन्दा धेरै अगाडि पुगिसकेको छ । हायातमा लाहुरेहरूले देखाएको तोरीलाहुरे पारा सर्मनाक छ ।’

उनले अगाडि भनेका छन्, ‘एनआरएनएले देशलाई जति दिएका छन्, त्योभन्दा धेरै यसका ठालुहरूले लुटेका छन् । वास्तविकता यही हो ।’

विमानस्थलमा पनि बद्नाम

सम्मेलनमा सहभागी हुन नेपाल आउँदा एनआरएनका प्रतिनिधिको हर्कतका कारण पनि संस्था बदनाम हुन पुगेको छ । 

अस्ट्रेलियाबाट सम्मेलनमा भाग लिन आएका एक गैरआवासीय नेपाली रमेश थापाले गत आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तोडफोड नै गरे । सो आरोपमा पक्राउ परेका उनी ५० हजार धरौटीमा छुटेका थिए । अरूबेला पनि एनआरएन नेपालीले अनावश्यक हर्कत गर्ने गरेको समाचार बाहिरिँदै आएको छ । दुई महिनाअघि पनि एनआरएन अध्यक्ष भवन भट्टले मापसे सेवन गरेर विमान चढेर बखेडा झिकेपछि उनलाई विमानमा यात्रा नदिइएको विषयले चर्चा पाएको थियो ।

राजनीतिक भ्रातृ सङ्गठनको जस्तो चुनाव, संस्थापक अध्यक्षकै असन्तुष्टि

सन् २००३ मा गैरराजनीतिक सङ्गठनको रूपमा स्थापना भएको एनआरएनमा नवौँ विश्व सम्मेलनसम्म आइपुग्दा राजनीतिक गन्ध प्रष्टै देखिन्छ । सङ्घमा राजनीतीकरण भएकै कारण संस्थापक अध्यक्ष उपेन्द्र महतोले त विश्व सम्मेलन बहिष्कारसमेत गरेका छन् ।

गैरराजनीतिक सङ्गठनमा राजनीति हाबी हुँदा संस्थाले बोकेको उद्देश्य नै छायामा पर्नसक्ने भन्दै सङ्घमा राजनीति मिसाउन नहुने महतोको तर्क छ ।

महतोले विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको सङ्घलाई राजनीतिक पार्टीको भ्रातृ सङ्गठनजस्तो बनाउन नहुने धारणा राख्दै आएका छन् ।

विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रूपमा स्थापित भइसकेको संस्थाभित्र दलगत राजनीति छिराएर विभाजित गर्ने काम कसैले पनि गर्न नहुने महतोको भनाइ छ ।

तर, नवौँ विश्व सम्मेलनबाट नेतृत्वका आकाङ्क्षी प्यानल नै बनाएर चुनावी प्रक्रियामा होमिएका छन् । बुधबार नेतृत्व चयनका लागि निर्वाचन हुँदै गर्दा अध्यक्षका प्रत्यासीद्वय कुमार पन्त र कुल आचार्यले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका हुन् ।

पन्त नेकपा निकटको उम्मेदवार मानिन्छन् भने आचार्य काँग्रेस निकटका मानिन्छन् । पन्त र आचार्य दुवैले काँग्रेस र कम्युनिस्ट समेटेर प्यानल बनाएको बताइए पनि एनआरएन सम्मेलन स्थलमा अधिकांश मतदाता भने काँग्रेस र कम्युनिस्टको कित्तामा उभिएका छन् ।

रोचक त के छ भने कम्युनिस्ट निकट मानिने पन्त समूहबाट उम्मेदवारी दिएका उम्मेदवारले समेत ‘म त काँग्रेसकै मान्छे हुँ, भोट दिनुपर्छ है’ भन्दै काँग्रेस निकटका मतदातासँग भोट माग्ने गरेको एक सहभागीले बताए ।

यस्तै कूल आचार्य समूहका उम्मेदवारले पनि यसैगरी प्रचार गरिरहेका छन् ।

विधान र आर्थिक प्रतिवेदन नै पास भएन

एनआरएन विश्व सम्मेलनको बन्दसत्रबाट आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव नै पारित हुन सकेको छैन । एनआरएन प्रवक्ता भूषण घिमिरेले प्रतिवेदनमा केही विषय मिलाउन बाँकी रहेकाले हाललाई प्रतिवेदनपछि पास गर्नेगरी मतदान प्रक्रियामा गइएको रातोपाटीलाई बताए ।

रोचक कुरा त के छ भने धनीहरूको क्लब भनिएको एनआरएन ऋणमा रहेको देखाइएइएको छ । कोषाध्यक्षको गोलमालपूर्ण अडिट गरिएको प्रतिवेदनमा संस्था करिब ७ करोड ऋणमा रहेको देखिएको यूएईबाट सम्मेलनमा सहभागी भएका प्रतिनिधि सुदीप सिलवालले जानकारी दिए । तर प्रवक्ता घिमिरेले भने भवन भट्ट कार्यकालमा एनआरएनले लाप्राक बस्ती, एनआरएन भवन निर्माण लगायतका ठूला परियोजना सञ्चालन गर्दा ठूलो रकम खर्च भएको भन्दै संस्था ऋणमा गएको बताए । यद्यपि आर्थिक प्रतिवेदन पारित हुन बाँकी रहेकाले आम्दानी खर्चको वास्तविक तथ्याङ्क आउन समय लाग्ने उनले बताए ।

अध्यक्षका उम्मेदवारद्वयले स्वीकारे गल्ती

एनआरएनको विश्व सम्मेलन अव्यवस्थितका साथै प्रतिनिधिको हर्कतलाई लिएर अध्यक्षका उम्मेदवारद्वय कुल आचार्य र कुमार पन्तले माफी मागेका छन् । उनीहरूले मतदान प्रक्रियामा सहभागी भइदिन पनि आग्रह गरेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal