eNepal

सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी क्लब पनि छ।

हिरो, हिरोइन तथा माेडलहरूबीच पनि प्राइभ लोकप्रिय छ।

२०७६ वैशाख २१ गते क्लबमा गुड फ्राइडे पार्टी चलिरहेको थियो। अंग्रेजी र हिन्दी गीतहरुमा अरु झैँ दिनेश रावल पनि झुमिरहेका थिए। युवतीसँग पनि राम्रैसँग ‘प्रफर्म’ गरिरहेका थिए। मदिरा लागेपछि उनले राम्रोसँग खुट्टा टेक्न छोडे। त्यसपछि नजिकैको सोफामा पल्टिए। एक्लै क्लब पुगे पनि त्यहाँ भेटिएका साथीहरुसँग उनी मनोरञ्जन गरिरहेका थिए। निरन्तर पिइरहेका थिए।

करिब मध्यराततिर बिल तिर्ने विषयमा क्यासियर र उनीबीच भनाभन भयो। नपिएको मदिराको बिल पठाएको उनले आरोप लगाए। उनी जंगिए, ठूलो ठूलो श्वरले चिच्याए।

‘मलाई चिनेको छैनस् म गभर्नरको छोरा हुँ’, उनले भनेको उदृत गर्दै प्रत्यक्षदर्शीले भने, ‘तँलाई थाहा छैन यो नोटमा मेरो ड्याडको सिग्नेचर छ। मैले चाहे तँलाई माटोमुनि मिलाइदिन सक्छु।’ उनले मुखमा आए जति अश्लिल शब्द बोल। काउन्टरमा बसेका कर्मचारीलाई ज्यान मार्ने धम्की समेत दिए।

हुन पनि उनी पूर्व गभर्नर डा.तिलक रावलकै पुत्र हुन्। उनका पिताको हस्ताक्षर भएका नोट अझै पनि आक्कल झुक्कल भेटिन्छन्। तर कर्मचारीले बिल त्यति नै रहेको र आफूले नपिएको मदिरा बिलमा समावेश नगरेको दाबी गरे। रावलले तथानाम गर्न नछोडेपछि तल्लो तहका कर्मचारीले क्लब म्यानेजरलाई बोलाए।

म्यानेजरले स्थिति सहज बनाउन प्रयास गरे तर सम्भव भएन। रावलले पिताको नाम लिँदै निरन्तर गलफत्ती गरिरहे। धम्क्याइरहे। आजित भएपछि म्यानेजरले पहिला क्लोज सर्किट क्यामेरा (सिसिटिभी) को क्यामेरा र सर्भरबीचको लाइन छुटाए। अब क्लबको दृश्य क्यामेरामा रेकर्ड नहुने भयो।

मदिराका सुरमा रल्लिएर तथानाम गरिरहेका दिनेशलाई मगर थर भएका म्यानेजरले रामधुलाई सुरु गरे। मजैसँग भकुरे।

केही समयपछि कसैले घटनाबारे प्रहरीमा खबर दियो। सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट एउटा टोली सोल्टी होटल हानियो। तर प्रहरी टोली क्लब पुग्दा त्यहाँ सुनसान थियो। रावल त्यहाँ थिएनन्। क्लब म्यानेजर पनि थिएनन्। किनभने त्यो खबर नै प्रहरीमा ढिलोगरी पुगेको थियो।

मदिराको सुरमा धाकधम्की दिँदा भक्कु गोदाइ खाएका रावलले त्यो दिन प्रहरीलाई सम्झेनन्। बरु भाँचिएको करङको उपचारको लागि अस्पतालतिर लागे। साथी डाक्टर खोज्दै उनी टिचिङ अस्पताल पुगे। एक्स–रे सहितको चेक जाँचपछि उनको करङमा नराम्रोसँग दक्खल पुगेको पुष्टि भयो।

‘क्लबमा आएका एक जना व्यक्ति उपर कुटपिट भएको हो’, कालिमाटी वृत्तका डिएसपी देवेन्द्र पालले घटनाबारे नेपालखबरसँग भने, ‘घटनामा संलगन भएको आरोपमा हामीले ३ जनालाई पक्राउ गरिसकेका छौं। अनुसन्धान भइरहेको छ।’

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal