eNepal

मनकामना मन्दिरमा राखियो सुनको जलप लगाएको गजुर

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा सोमबार गजुर स्थापना गरिएको छ ।

जिर्णोद्धार गरिएको मन्दिरमा वैशाख पूर्णिमाको दिन पारेर क्षमापूजा गरी गजुर राखिएको मन्दिर जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।‘बिहान ९ बजेको उत्तम साइत रहेछ, पुजारी र अन्य पण्डितहरुबाट विधिवत पूजा गराइ गजुर स्थापना गर्‍यौं,’ उनले भने । जीर्ण रहेको पुरानो गजुरलाई मर्मत गरिएको श्रेष्ठले बताए । ‘पुरानो गजुर कतै कुच्चिएको कतै प्वाल परेको थियो,’ उनले भने, ‘त्यसलाई मर्मत गर्‍यौं अनि सुनको जलप लगाएर मन्दिरमा स्थापना गरेका हौं ।’

गजुर मर्मत गर्दा करिब ३३ तोला सुन लागेको उनले बताए । गजुर मर्मत गर्न करिब ४० लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । गजुर स्थापना भए पनि मन्दिर जिर्णोद्धारको काम भने अझै सकिएको छैन । ‘माथिल्लो छानाको काम सकियो, तल्लो छानाको पातामा पनि सुनको जलप लगाइसकेको छौं, माथिल्लो छानाको खट खोलेपछि तल्लो भागमा छाना छाउने काम शुरु हुन्छ,’ समिति संयोजक श्रेष्ठले भने । असारसम्ममा छाना छाउने काम सक्ने र असोज महिनादेखि भक्तजनका लागि मन्दिर खुल्ला गर्ने लक्ष्य रहेको उनले बताए । मन्दिर जिर्णोद्धारका लागि १२ करोड रुपैयाँ भन्दा बढी लाग्ने समितिले अनुमान गरेको छ । ‘सुन मात्रै १५ किलो भन्दा बढी लाग्ने भयो, अहिलेसम्म १२ किलो खर्च भइसकेको छ,’ श्रेष्ठले भने । जिर्णोद्धारका लागि नेपाल सरकारबाट सात किलो सुन प्राप्त भएको थियो । ‘केही सुन र ९ करोड जति रकम भक्तजनबाट संकलन भएको छ, अरु हामीले जोहो गरेका छौ,’ उनले भने ।

२०६८ सालमा पुरातत्व विभागले गरेको अध्ययन अनुसार मन्दिर जिर्णोद्धारका लागि आठ करोड लाग्ने बताइए पनि महंगीका कारण लागत खर्च बढेको श्रेष्ठले बताए । ०७२ देखि मन्दिर जिर्णोद्धारको काम सुरु गरिएको थियो । करिव ९५ प्रतिशत काम सम्पन्न भएको उनको भनाइ छ ।

साभारः नारायणी अनलाईन

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal