eNepal

कविता : लाँदैछ पाता कसी! (शार्दूलविक्रीडित छन्द)

उर्ल्यो साउन अन्त्यकाल बनिदै मासान्तको पूर्वमा,
भत्के खेत गराहरू मुलुकमा आकाश घोप्टीकन!
धर्ती मात्र सबै जलामय भईन् देखिन्न माटो कतै,
उत्रन्छन् लहरा बुटा सुमनका पानीहरूमा सबै!

मान्छे मात्र मरे मरे कति मरे गाई र गोरूहरू!
भैंसी औ कुखुराहरू कति मरे बाछा र बाछीहरू!
केही छैन हिसाब राख्नु कसरी पानी छ पानी छ रे!
निर्धाको अधिकार खोसिनगयो मासिन्छ मासिन्छ रे!

आँखाको जति दृष्टि पुग्छ त्यति नै देखिन्छ रे सागर!
भागी जानु कता कता विपदमा के आँटले थाम्छ र!
लाला बाल बचाउने मन हुँदा आमा र बाबाहरू!
बोकी काँध हिँडे हिँडे पर पुगे भेटिन्न पाखाहरू!

आत्ती सास गयो मरे सब मरे बाँचेन कोही पनि!
यस्तो हाल भयो हिमाल मनिको नेपालको जीवनी!
धेरैको जन माल नाशिनगयो खोस्दैछ पानी पसी!
पानी मृत्यु भएर उर्लिनगयो लाँदैछ पाता कसी!

धेरै मानिस जीव रातभरि नै डुङ्गाहरूमा बसी
पर्खे हुन्छ बिहान देख्छ कसले लैजान्छ लैजान्छ कि!
भन्ने आश गरे बिहान हुनगो आएन कोही पनि!
आयो भल्भल भेल उर्लिरहँदै राखेन केही पनि!

कस्तो उत्तरदेखि दक्षिण सबै या पूर्व औ पश्चिम!
नेपाली धरणी डुबाउनगयो बाटो कतै देख्दिन!
आयो काल करालझैं प्रलयको नेपाल खाने गरी,
खायो जीव जगत् समस्त वसुधा मैदान-पाखाभरि!

गैंड़ा सम्म बगे बगे विपिनका हात्ती हराए कति!
मैना काननभित्र रुन्छ अहिले सातो गएको छ कि!
मान्छे मात्र त के चराचर जगत् मर्दैछ मर्दैछ रे!
यस्तै साउनभो भदौतिर अझै के हुन्छ के हुन्छ रे!

हाहाकार भयो तथापि अहिले हाम्रा छिमेकीहरू,
पानी खोल्न तयार देख्तिन म ता नेपाल मिच्नेहरू!
यस्तो आपदमा मिली मुलुकको उद्धार गर्नेगरौं!
नेपाली पहिचानले मुलुकमा सद्भाव भर्नेगरौं!
क्रमश…..
………………….. ….. …………….
रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द
मितिः १६ अगस्त २०१७
समयः साँझ १९ बजेर ४५ मिनेट जाँदा
स्थानः सरुपथार,गोलाघाट,असम (भारत)

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal