eNepal

विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई–पासपोर्ट जारी गरिने

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतिय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ ।

विभागले ई–पासपोर्ट जारी गर्न सुरु गरेपछि यसअघि जारी हुँदै आएको मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न नियोगहरुले बन्द गरेका थिए ।

‘अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने हाम्रो योजना छ,’ राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भने, ‘ई–पासपोर्ट जारी गर्न आवश्यक पर्ने सामाग्री नियोगहरुमा पठाउन थालेका छौं ।’ 

एमआरपी बन्द गरी विभागले गत मंसिर १ गतेबाट ई–पासपोर्ट जारी गर्न सुरु गरेको थियो । सताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट प्रदान गरिएको थियो ।

यसअघि विभागले ७७ जिल्ला र विदेशस्थित सबै नेपाली नियोगबाट एमआरपी जारी गर्दै आएको थियो । ई–पासपोर्ट जारी भएपछि नियोगबाट नयाँ पासपोर्ट जारी नहुँदा विदेशमा रहेका हजारौं नेपाली अप्ठेरोमा परेका थिए । 

‘पासपोर्टका कारण नेपालीलाई अप्ठेरो नपरोस् भनेर सबैभन्दा पहिले धेरै नेपाली रहेका देशस्थित नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने तयारी हाम्रो छ,’ महानिर्देशक अर्यालले भने । 

हाल नेपालको ३० देशमा दूतावास, ३ स्थानमा स्थायी नियोग र ७ स्थानमा महाबाणिज्य दूतावास रहेका छन् ।  विभागले ई–पासपोर्ट जारी गर्न सबैभन्दा बढी प्राथमिकता खाडी राष्ट्रमा रहेका नेपाली नियोगलाई दिएको छ । 

आइतबार कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट इ–पासपोर्ट सफलतापूर्वक छापिएको थियो । विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो इ–पासपोर्ट हो । सफल परिक्षण भएसँगै इ–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ । 

‘खाडी राष्ट्रमा रहेका नेपाली नियोगबाट इ–पासपोर्ट जारी गर्न आवश्यक पर्ने सम्पूर्ण सामाग्री यहाँबाट पठाइसकेका छौं । सामाग्री यही जडान गरेर पठाएका छौं,’ महानिर्देशक अर्यालले भने । युनाइटेड अरब इमिरेट्सस्थित नेपाली दूतावासबाट मंगलबारबाट इ–पासपोर्ट जारी गर्ने तयारी भइरहेको उनले बताए ।

मलेसियास्थित नेपाली दूतावासबाट छिट्टै ई–पासपोर्ट जारी गरिने तयारी भइरहेको छ । आवश्यक पर्ने सबै सामाग्री मलेसियास्थित दूतावास पुगीसकेको महानिर्देशक अर्यालले बताए । 

नेपाल भित्र अहिले ४२ वटा जिल्लाबाट ई–पासपोर्ट जारी गर्न सुरु गरिएको छ । झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर, काभ्रे, रामेछाप लगायतका जिल्लाबाट अहिले ई–पासपोर्ट जारी भइरहेको छ ।

 अहिले विभागमा ई–पासपोर्टको लागि दैनिक ११ देखि १२ सयसम्मको आवेदन पर्ने गरेको महानिर्देशक अर्यालले जानकारी दिए । जिल्ला र विभागमा गरी दैनिक दुई हजारसम्म आवेदन पर्ने गरेको छ । विभागबाट ई–पासपोर्ट बनेर जिल्ला जान एक देखि डेढ हप्ता लाग्ने गरेको उनले जनाए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal