एउटा भाई अम्रित साईन्स क्याम्पसमा बिएस्सी पढ्दा पढ्दै बिदेश जाने भुतले ग्रस्त भएछ।उसका केही साथीहरु आईएस्सी सकेर हिडी हाले।कोही अमेरीका त कोही अस्ट्रेलीया।साथीहरु अलिक अगाडी गए।बजारमा राखेका डमी जस्तो अस्ट्रेलीयाको निती नियममा हुने फेरबदलले कसलाई कतिखेर असर गर्छ पत्तै पाईन्न।जसले जान्यो त्यसले पायो भने जस्तो कोहीले बेलैमा बुद्दी लगाएर पिआर हात पारे।कोही ह्या भन्ने बानीले १० औ बर्ष सम्म पढिनै रहेका छन्।कोही अनाधिक्रीत रुपमा लुकेर पनि बसिरहेका छन्।कोही समय समयमा आउने मौकालाई छोप्नमा माहिर हुँदा हद सम्म सफलनै छन्।
जे होस् साथीहरुको कहर अनि नेपालको शिक्षा क्षेत्रमा भएको राजनितीकरणले आकुल ब्याकुल भएर राम पनि परदेशियो।कति दिन बोक्नु पाटीको झन्डा।कति दिन बजाउनु नेताका फुस्रा भाषणमा ताली अनि कति खियाउनु सम्मेलन र भेलाको नाम हात्तीछाप चप्पल।वाक्क दिक्क प्याक्क भएर आएको भाईले जब अस्ट्रेलीया प्रबेश गर्यो।केही दिन मख्ख दङ्ग अनि फुरुङ्ग हुँदै आफ्ना पुराना दौतरीलाई राजनैतिक गफ दिदै यस पालीको स्थानीय चुनाबमा फलानो पाटीले जिल खाने भयो।फलानोको प्रगड छ है काठमाण्डौमा भन्दै खुव ठुला ठुला गफ दिन थाल्यो।
क्रमैसँग अस्ट्रेलीयाको हावापानी दिनचर्यासँग घुलमील हुन थाल्यो।बिस्तारै उसलाई फेसबुकमा रिक्वेस्टहरु पनि आउन थाले।कहिले नेबिसँघ अस्ट्रेलीया,कहिले अनेरास्वब्यु अस्ट्रेलीया, कहिले लोकतान्त्रीक फोरम, कहिले अखिल क्रान्तीकारी मन्च अस्ट्रेलीया अनि कहिले नयाँ शक्ती पाटी त कहिले साझा पाटी अस्ट्रेलीया अनि बिवेकशिल नेपाली अस्ट्रेलीया।पठाएका रिक्वेस्टहरु एसेप्ट गर्दा केटो दङ्ग खायो अनि सोच्यो भने पछि केही प्रभुहरुले चाँहि नेपाल हुँदाको राजनितीको जिवाणुहरु आफुसँगै ल्याउनु भएछ।
उसले सोचेको थियो अव त राजनितीबाट मुक्त पाईने भयो।पाटी,गुठ अनि मोर्चा भनेर कसैको झण्डा बोकेर जिन्दाबाद र मुर्दाबादको नारा त लाउन पर्दैन तर सोचेको भन्दा ठिक बिपरीत यता त झन् पाटी देखी सङ्घठन र प्यानलमा बिभाजित समाजका केही धमीराहरुले ग्रस्त पारिसकेको रहेछ।हामी नेपाली भन्नु भन्दा हामी फलानो समाजको हो।हाम्रो प्यानलले यस पाली फलानो पाटीलाई सहयोग गर्नुपर्छ।बरु मिल्यो भने पर्सी शनिबार फलानो पार्कमा सानो बार्बेक्यु कार्यक्रम आयोजना गरिएको छ।पाटीगत केही कार्यक्रम र आउँदो एनआरएनको चुनाबमा कसलाई सहयोग र समर्थन गर्नेबारे छलफल छ।आईदिनु होस भनेर बकैदा फेशबुकमा ग्रुप बनाएर रातबिरात नसुतीकन घ्यार्र घ्यार्र पारेर हैरान बनाउने रहिछन्।बोरु राजनितीको कीरोले त बिदेश तिर मज्जाले छिद्रा छिद्रा पो बनाएछ।
अचम्म त यो रहेछ पाँच जना मिलेर सँस्था खोल्ने अनि पदीय दायीत्व भन्दै अध्यक्ष र सचीब पड्काउने।फेसबुकको प्रोफाईलमा फलानो भात्रृसङ्गठनको स्टेट सँयोजक, चिलाना समाजको अध्यक्ष, केजाती फोरमको सल्लाहकार अनि नेपाल अस्ट्रलीया मन्चको आजिवन सल्लाहकार अादी ईत्यादी यति लामो प्रोफाईल।कठै बिचरा।
हैट झन् उराठ्लाग्दो र भयाबह स्थिती त यता पो रहेछ।हैन नेपाललाई त नेता, नेताका भरौटे, कार्यकर्ता सबै मिलेर बिगारे बिगारे।आखिरी किन यो परदेशमा आएर पनि राजनिती,त्यो पनि घिन लाग्दो राजनिती।प्यानल अनि गुठ र समुहमा बिभाजित राजनिती।के अव यहाँका केही प्रभुहरुलाई एउटा खुल्लामण्चको आवस्यक्ता भएकै हो मिठा गुलीया अनि अपच्य भाषणको लागि!!!
राजनिती गर्ने हो भने देश फर्कौ बेकारमा दुःख गरेर रोजी रोटी खाने सोझा जनतालाई रत्नपार्कमा एक पिलेट कुखुराको मासुको भरमा भाषण सुन्न आउने सोझा जनतालाई जस्तो बेवकुफ कदापी नबनाउँ॥
लेखकःमनोज पौड्याल

