eNepal

आज कुकुर पुजाको साथै धन्यधान्यकि देवि लक्ष्मी पुजा गरिदै

काठमाडौं – हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने गर्छ ।कुकुरलाई भैरवको बहान पनि भनिन्छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

यसैबीच तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ ।
बिहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन् ।मूलद्वारदेखि पूजाकोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पनि पूजा गर्ने चलन पनि छ ।

लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ । लक्ष्मी पूजापछि आज रातभर पूजाकोठा, घर आगन र टोलमा वत्ति बाल्ने गरिन्छ ।

सुखरात्रीको रुपमा चिनिने आजराति जुन घर उज्यालोले झकिझकाउ छ सोही घरमा लक्ष्मी प्रवेश गर्ने मान्यता रहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal