eNepal

आज दशैको आठौं दिन महाअष्टमी, यस्तो छ धार्मिक महत्व

काठमाडौं- आज बडा दशैंको आठौं दिन महाअष्टमी। आश्विन शुक्ला अष्टमीको दिनमा मनाइने महाअष्टमी पर्वमा नेपालीहरुले दुर्गा भवानीको पूजा आरधना गरेर मनाईने प्रचलन छ ।

महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाअर्चना गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

शास्त्र अनुसार महाअष्टमीमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ।

सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ( सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो। सात्विक र पशु बलीसहितको पूजालाई राजस पूजा भनिन्छ। राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु बली पनि शास्त्रीय भएको नेपाल पंचाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए।

शास्त्रमा ब्राह्मणका लागि भने पशु बली बर्जित गरिएको गौतमको भनाइ छ। आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलीको महत्व छ। दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशु बलीलाई अशास्त्रीय भन्न नमिल्ने गौतमले बताए। यी तीन वटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ। यसैकारण आजको दिन विधिपूर्वक पशु बली दिइने गरिएको हो। आजै राति कालरात्रिका रुपमा पशु बलीको विधि र पूजाआजासहित मनाउने गरिन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ।

महाअष्टमीमा कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलीसहित पूजाआजा गर्ने गरिन्छ। यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो।

आज दशैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलीसहित पूजा गरिन्छ।
पशु बली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बली दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन्। हनुमानढोकाको दशैंघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बली दिई कालरात्रि मनाउने चलन छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal