प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।
राष्ट्रपति कार्यालयले बुधवार विज्ञप्ति जारी प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरूको नियुक्ति, जिम्मेवारी हेरफेर गरी मन्तिपरिषद् गठन गरेको उल्लेख गरेको हो ।
यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् भने रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।
यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।
महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।
मन्त्रिपरिषद् हेरफेरका विषयमा बिहान नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

