काठमाडौं-आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्दिरपरिषद् बैठक बस्न लागेको छ। आजको बैठकमा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा पनि छलफल हुने जनाएको छ। असोज ३ गते संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषणको टुंगो लगाउन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। आज मध्याह्न १२ बजे बस्ने बैठकमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामबारे निर्णय हुनेछ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभूषण सिफारिस समितिले प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेको जनाएको छ। त्यस्तै, आजको बैठकमा विभिन्न राजनीतिक नियुक्तीका विषयमा पनि निर्णय हुने जनाएको छ। जसमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको विषयमा पनि रहेको छ। प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै नियुक्त गर्ने प्रस्ताव उर्जामन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बुझाएका थिए। तर, त्यस विषयमा सोमबारको बैठकमा छलफल हुनसकेको थिएन्।

