चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा आज (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुँदैछ ।
निषेधाज्ञा थप गर्ने या नगर्ने भन्ने विषयमा आज दिउँसो प्रशासन कार्यालयमा बैठक बस्दै छ । चितवनमा हरेक दिन संक्रमितको संख्या बढ्दै गइरहेकाले अझै एक साता निषेधाज्ञा लम्ब्याउने तयारीमा प्रशासन छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज दिउँसो बस्ने बैठकले निषेधाज्ञा बारे निर्णय गरिने जानकारी दिए । उनले नारायणी अनलाइनसंग भने–‘आज दिउँसोको बैठकले निषेधाज्ञा थप गर्ने संभावना छ ।’
चितवनमा आज एकैदिन ७४ जनामा संक्रमण पुष्टि भएको छ । यसले जिल्लामा थप जोखिम बढाएको प्रशासनको निश्कर्ष छ । हालसम्म चितवनका ११ जनाको कोरोना संक्रमणबाट नै मृत्यु भइसकेको छ ।
चितवन प्रशासनले पछिल्लो पटक निषेधाज्ञा थप गर्दा बैंकिङ क्षेत्रलाई केही खुकुलो बनाएको थियो । यसैलाई निरन्तरता दिएर वा अझ केही क्षेत्रलाई खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने प्रशासनको तयारी रहेको बुझिएको छ ।
चितवनमा साउन ३१ गतेदेखि पहिलोपटक भरतपुर महानगरपालिकाबाट निषेधाज्ञा सुरु भएको थियो । हाल जिल्लाभर निषेधाज्ञा जारी छ ।

