काठमाडौं -सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ । आज बस्ने सचिवालय बैठकले पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई स्वामित्व ग्रहण गर्ने र स्थायी कमिटीमा पेस गर्न प्रस्तावको रूप दिने बुझिएको छ ।
कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते नै सचिवालय बैठक बोलाइएको थियो । रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले सचिवालय बैठक भदौ १८ गतेलाई सारिएको थियो । सचिवालयले स्थायी कमिटी बैठक बोलाउने सम्भावना रहेको पनि स्रोतले जानकारी दियो । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरुद्ध छ ।

