काठमाडौं -आजबाट १६ श्राद्ध सुरु भएको छ। १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष भनिन्छ । श्राद्ध पक्षका १६ दिनमा भाद्रशुक्ल पूणिर्माको दिन पूणिर्मा तिथिको श्राद्ध गरिन्छ । यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्यासम्म तिथिअनुसार श्राद्ध गरिन्छ। अन्तिम दिन सर्वपितृमोक्ष अमावस्या पर्छ ।
पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर हामीबाट पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा उनीहरू सँग क्षमा माग्ने पर्व हो श्राद्ध पक्ष । श्राद्ध पक्षमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन् ।
कोरोना महामारीको कारण यसबेला प्रत्यक्ष श्राद् गर्न कठिन भएको छ। कसैले भर्चुअल माध्यमबाट पनि श्राद्द गर्न सुझाव दिएका छन भने कसैले कात्तिकको अन्तिमसम्म श्राद गर्न पनि सुझाव दिएका छन् ।
के हो श्राद्ध ?
श्राद्ध पक्ष हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आउँछ। श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका निमित्त श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो ।
श्राद्ध पक्षका क्रममा आफ्ना परिवारका ती मृत सदस्यहरूलाई याद गरिन्छ, उनीहरूप्रति सम्मान प्रकट गरिन्छ, श्रद्धान्जलि दिइन्छ, जसका कारण आज हामीले वर्तमान जीवन प्राप्त गर्न सकेका छौँ । श्राद्धका क्रममा पूर्वजहरूलाई जौ, तील, कुश, पानी तथा पन्चामृतको तर्पण दिइन्छ । तर्पण गर्नुको उद्देश्य आˆना पूर्वजहरूको आत्मालाई उनीहरू आज पनि हाम्रो परिवारको हिस्सा हुन्, आजसम्म पनि हाम्रो स्मृतिमा जीवित छन् र हामी आफूप्रति उनीहरूको आशीर्वादका साथै उनीहरूको प्रसन्नताको कामना गर्छौं भन्ने भाव दर्शाउनु हुन्छ ।
हिन्दू धर्मको मान्यता अनुसार श्राद्ध पक्षमा सम्पूर्ण पूर्वजहरूको आत्मा आफ्ना परिवारजनको प्रसन्नता जान्नका लागि जागृत हुन्छ । यसकारण यो समयमा गरिने तर्पणबाट उनीहरू सीधै हाम्रो श्रद्धारूपी भावना एवम् उपहार स्वीकार गर्छन् र खुशीपूर्वक आशीर्वाद प्रदान गर्छन्, जसबाट हाम्रो जीवन उन्नति मार्गमा अघि बढ्छ ।

