काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साकी ५६ र सर्लाहीकी ३२ वर्षीया महिलाको निधन भएको हो । यस्तै संक्रमणकै कारण झापाका ५८ वर्षीय पुरुषको पनि ज्यान गएको छ । यससँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४९ जनाको मृत्यु भएको छ ।
आज देशभर आठ सय १८ जना संक्रमित थपिएका छन् । आठ हजार २६ जनाको पीसीआर गर्दा दुई सय २० महिला र पाँच सय ९८ पुरुषमा संक्रमण देखिएको हो । तीमध्ये काठमाडौँ उपत्यकाका एक सय ६६ जना रहेका छन् । काठमाडौँका एक सय २६, भक्तपुरका २८ र ललितपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज दुई सय ८१ जना डिस्चार्ज भएका छन् । हाल देशभर १३ हजार एक सय ५५ संक्रमित आइसोलेसनमा उपचाररत छन् । आईसीयूमा १३७ र भेन्टिलेटरमा १० जना रहेका छन् । मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँमा पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । मुस्ताङ, हुम्ला र म्याग्दी संक्रमितमुक्त जिल्ला भएका छन् ।

