काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी नेकपाका ५ जना सचिवालय सदस्य र केही स्थायी समितिका नेताहरू प्रचण्ड निबास खुमलटारमा छलफलमा जुटेका छन् । छलफलमा नेकपा अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति सदस्यहरू पनि छलफलमा उपस्थित छन् । अर्का सचिवालय सदस्य रामबहादुर थापा बादललाई छलफलमा बोलाइए पनि हालसम्म उपस्थित नभएको प्रचण्डको सचिवालयले जनाएको छ।
शनिबारको सचिवालयमा भएका छलफल, त्यसअघि अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको छलफलकाबारेमा समीक्षा गर्न नेताहरू जुटेको एक स्थायी समति सदस्यले बताए । लगातार स्थगित गरिएको स्थायट्ठ समिति बैठक आज ३ बजेका लागि तोकिएको छ ।
शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आत्मआलोचना गरी अहिले कुनै विवाद नगर्न र जतिसक्दो छिटो महाधिवेशन गएर सबै छिनोफनो गर्ने प्रस्ताव गरेका थिए।
सचिवालय बैठक अगाडि शनिबार दिउँसो दुई अध्यक्षबीच दुई घण्टा छलफल भएको थियो । सो छलफलमा प्रचण्डले ओलीसँग कुनै कुराको लेनदेनमा सहमति गरेको आशंका अन्य नेताहरूले गरेका छन् । उनीहरूले प्रचण्डलाई ओलीले पटक–पटक धोका दिएकाले कुनै खालको सहमतिमा विश्वास नगर्न सुझाव दिएको स्रोतको भनाइ छ ।
खुमलटारमा जुटेका नेताहरूबीच यी सबै विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।
शनिबार बेलुका प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले ओलीसँग अर्का अध्यक्षको छलफल मात्रै भएको तर कुनै सहमति नभएको भन्दै गलत प्रचारबाजी नगर्न आग्रह गरेकी थिइन् ।

