लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन् ।शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।
विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज २६ जना नेपालीलाई लिई काठमाडौं अवतरण भएको हो ।
कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।
विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।
सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ । नेपाल टेलिकमले पनि उनीहरुलाई विमानस्थलमै निःशुल्क सीम कार्ड वितरण गर्नेछ । ती सीम कार्डको माध्यमबाट संक्रमितको गतिविधिबारे जानकारी लिन सहज हुने सीसीएमसीको विश्वास छ ।
म्यानमार सरकारले आफ्नै खर्चमा यी नेपालीहरुलाई स्वदेश फर्काएको हो।

