नेप्लिज एसोसियसन अफ भिक्टोरियाले रोयल वेस्टर्न फुटबल क्लबसँग सहकार्य गर्दै पहिलो पटक न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता भिक्टोरियामा सम्पन्न भएको छ। केइलर पार्क सकर क्लब , स्टडियम ड्राइभ केइलरमा २२ फेब्रुअरी शनिबार सम्पन्न भएको प्रतियोगितामा नेपाली र अन्य समुदायका गरी ८ वटा क्लवहरुले प्रतिस्पर्दा गरेका थिए।
एल्बियोन थण्डर फुटबल क्लव, भुट्निज थण्डर फुटबल क्लव, मेल्बोर्न लम्बासा फुटबल क्लव, फुट्सक्रे रेन्जर फुटबल क्लव, रोयल वेस्ट्रन फुटबल क्लव, यती फुटबल क्लव, युनाईटेड फुटबल क्लव, हिमालयन फुटबल क्लवको बिच भएको रोमान्चकारी खेलमा एल्बियन थण्डर फुटबल क्लबले पहिलो स्थान हासिल गर्न सफल भयो भने रोयल वेस्टर्न क्लब रनर अप भएको थियो ।
बिजयी क्लबका खेलाडीहरुलाई आमन्त्रित बरिस्ठ अतिथिहरु संघीय सरकारका सांसद डयानियल मुलिनो, राज्य सरकारका सांसद कौशलिया भगेला, ब्रिमब्याङ्क सिटी काउन्सिलका उप-मेयर किम थियन त्रुंग, 3ZZZ रेडियोका अध्यक्ष जर्ज सलोउम लगाएत नेपाली संघ संस्थाका प्रतिनिधिहरुले ट्रफी, मेडल तथा सर्टिफिकेट वितरण गरेका थिए । उक्त प्रतियोगितामा फेयर प्ले , हाई स्कोरर , बेस्ट किपर , प्लेअर अफ द टुर्नामेन्ट गरी बिभिन्न बिधामा पुरस्कार वितरण गरिएको थियो ।

खेलको माध्यमबाट भिक्टोरियामा रहेका विभिन्न समुदाय बिच साँस्कृतिक सद्भाव बढाउने उदेश्यका साथ आयोजना गरिएको प्रतीयोगितालाई भिक्टोरियन मल्टीकल्चरल कमिसनको अनुदान रहेको थियो भने लेकाली रेस्टुरेन्टले हस्पिटालिटी पार्टनर, एक्सर्ट एजुकेसन एण्ड भिषा सर्भिसेज र सोल्भ एजुकेसनले प्रायोजन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै ब्रिमब्यांक सिटी काउन्सिलका मेयर जर्जिना पापा फोटीओउले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नु भयो । पुरस्कार वितरण समारोहमा मन्तब्य व्यक्त गर्दै संघीय सरकारका सांसद डयानियल मुलिनो, राज्य सरकारका सांसद कौशलिया भगेलाले दुइ नेपाली संस्थाहरु मिलि संचालन गरेको यस प्रतियोगिता एउटा राम्रो उदाहरण भएको र आगामी दिनहरुमा बिभिन्न कार्यक्रमहरुका लागि सक्दो सहयोग गर्ने बताउनु भयो भने बिजयी खेलाडीहरु, क्लब लगाएत आयोजक संस्थालाई बधाई ज्ञापन गर्नु भएको थियो ।
प्रतियोगितामा उपस्थित सम्पूर्ण अतिथिहरु, रेफ्री, खेलाडी, खेलप्रेमी दर्शक, स्वयंसेवक, मेडियाकर्मी, पत्रकारहरुलाई आयोजक संस्था न्याभका अध्यक्ष तारा गैरेले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने रोयल वेस्टर्न क्लबका अध्यक्ष बम योन्जनले धन्यबाद व्यक्त गर्नु भएको थियो ।
यस टुर्नामेन्टमा केटाकेटीहरुको लागि फेस पेन्टिङ, जम्पिंग क्यासल, किड्स फनको पनि ब्यबस्था रहेको थियो ।


