प्रवासका नेपालीहरुको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ मर्यादाक्रम तोकेको छ।
महासचिव डा. हेमराज शर्माले एक प्रेस विज्ञप्ती जारी गरी सार्वजिनक गरेको रोलक्रम १ देखि ३५ नम्बरसम्म रहेको छ । विज्ञप्ती अनुसार मर्यादाक्रम १ मा स्वयम अध्यक्ष हुनुहुन्छ छ भने ३५ मा साधारण सदस्यलाई मिलेको छ।
नयाँ रोलक्रम अनुसार रोल नम्बर २ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष, रोल नम्बर ३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रमुख संरक्षक, रोल नम्बर ४ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का संरक्षकहरु, रोल नम्बर ५ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्षहरु,रोल नम्बर ६ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी सचिवालयका पदाधिकारीहरू, रोल नम्बर ७ मा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त विशेषज्ञहरूको भूमिकामा रहने अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गठन गरेका उच्चस्तरीय समितिका सदस्यहरू, रोल नम्बर ८ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्वद्ध र मानार्थ सदस्यहरू र रोल नम्बर ९ मा अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकारहरूलाई राखिएको छ।
नयाँ रोलक्रममा १ देखि १५ रोल नम्बर अन्तर्राष्ट्रिय समन्वय परिषदलाई दिइएको छ भने रोल नम्बर १६ बाट मात्र राष्ट्रिय समन्वय परिषदले ठाउँ पाएका छन्। राष्ट्रिय समन्वय परिषदका अध्यक्षलाई रोल नम्बर १६ मा राखिएको छ।
रोलक्रमलाई लिएर मिश्रित प्रतिक्रिया मिलेको छ। अरूले यस बारेमा खासै चासो नदेखाए पनि राष्ट्रिय समन्वय परिषद्का अध्यक्षले भने आफ्नो अवमूल्यन भएको गुनासो गरेका छन्।


