गैरआवासीय नेपाली संघ एनआरएनएको काठमाडौं विश्व सम्मेलनका लागि अहिलेसम्ममा २ हजार ८ सयभन्दा बढी डेलिगेट्सहरुको नाम काठमाडौं पुगेको छ।
सेप्टेम्बर ३० सम्म विश्वभरका गैरआवासीय नेपाली संघ एनसिसीका केन्द्रीय प्रतिनिधिहरु र मतदाताहरुको नाम पठाउनु पर्ने केन्द्रको निर्देशनसँगै अधिकांशको नामावली काठमाडौँ पुगिसकेको हो।
यससँगै नेतृत्वको दावी गरिरहेका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तमध्ये को बलियो भन्ने अड्कलबाजीहरु चल्न थालेका छन्। दुवै उपाध्यक्षहरु आचार्य र पन्तले अध्यक्ष पदमा लड्ने घोषणा गरिसकेका छन्।
कस्तो छ आँकडा?
अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य १४ हजार सदस्य भएको विश्वको सबैभन्दा ठूलो एनसिसी रहेको देश बेलायतबाट अध्यक्षका प्रत्यासी हुन्।
डेलिगेट्सको हिसाबमा आचार्य २ सयभन्दा बढी भोट भएको बेलायतबाट हुन्। ३० भोट डेलिगेट्स भएको जर्मनीबाट पन्तले उम्मेदवारी दिएका छन्। जर्मनीमा २ हजार एनसिसी सदस्य रहेका छन्।
पूर्वअध्यक्षहरु को कता?
गैरआवासीय नेपाली संघको निर्वाचन भए पनि प्रश्न राजनीतिक समर्थन पनि देखिँदै आएको छ। साथै पूर्व अध्यक्षहरुको समर्थनले पनि गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रभाव पार्ने गर्छ।
यसपटक अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले समर्थन गरेका छन्। एनआरएनएका वर्तमान अध्यक्ष भवन भट्ट पनि आचार्यलाई अध्यक्ष बनाउने पक्षमा छन्।
खुलेर नआए पनि अध्यक्षका उम्मेदवार पन्तलाई पूर्व अध्यक्ष जीवा लामिछानेले सहयोग गरेका छन्। तर, संस्थापक अध्यक्ष उपेन्द्र महतो अहिलेसम्म तटस्थ रहेका छन्।
आचार्यकाे लोकतान्त्रिक धार
अध्यक्षका प्रत्याशी आचार्यले बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशसँगै लोकतान्त्रिक शक्तिहरु नै नेतृत्वमा आउनु पर्ने सन्देश विश्वभरिबाट आएको बताएका छन्।
अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका मुलुकमा लोकतान्त्रिक पक्षधर बढी रहेकाले आचार्यले आफ्नो जीत सहज रहेको विश्वास लिएका छन्।
पन्तले साथीहरुसँग छलफल गरिरहेको र विश्व सम्मेलन तथा नयाँ नेतृत्वका विषयमा आवश्यक योजना बनाउने बताएका छन्।

